मेगा बैंकको ७ प्रतिशत लाभांश पारित, लगानीकर्ताले माघको पहिलो साता भित्रै पाउने

  २०७५ पुष ३० गते १७:०१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम अब लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् । साथै, ४२ दिन भित्र लगानीकर्ताको डिम्याट(हितग्राही) खातामा जाने उनले बताइन् ।

पारित लाभांशप्रति लगानीकर्ता निराश देखिएकाले निराश नहुन आग्रह गर्दै सीईओ खुन्जेलीले यस वर्ष लाभांशकाे दर घट्नुकाे कारण बताएकी छिन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको २८ करोड रुपैयाँ एनएफआरएसको जगडा कोषमा गएको कारणले बैंकको मुनाफामा वृद्धि नभएको र सोही कारणले यस वर्षको लाभांश वृद्धि हुन नसकेको उनले जानकारी गराइन् । उक्त एनएफआरएसमा सो मात्राको रकम नगएको भए यस लगानीकर्ताले १० प्रतिशत बढी लाभांश पाउने निश्चित हुने बताउँदै उनले आगामी वर्षमा लगानीकर्तालाई डबल डिजिटमा लाभांश दिने प्रतिवद्धता जनाएकी छिन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड २८ लाख रुपैयाँ रहेको छ । एक प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ । सेयर लाभांश वापत १० करोड ३० लाख रुपैयाँ बराबरको सेयर सेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै ४० लाख ६६ हजार रुपैयाँ भने सञ्चित मुनाफामा राखिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकले एक अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३/७४ मा त्यस्तो मुनाफा एक अर्ब १३ करोड दुई लाख रुपैयाँ रहेको थियो । बैंकले ४५ करोड ४० लाख रुपैयाँ सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म बैंकले तीन अर्ब १५ करोड रुपैयाँले निक्षेप वृद्धि गरी ६६ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

साथै, बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले सभामा जानकारी गराएका छन्। ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ बैंकले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ ।

बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.