आइतबारदेखि हवाई भाडा घट्दै, धनगढी-काठमाडौं रुटमा ४४० रुपैयाँ घट्यो

२०७५ पुष २८ गते १३:५६ विकासन्युज


काठमाडौँ । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन् ।

आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो ।

संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ । सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।

काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ । पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको छ ।