एनसीसी बैंकको सेयर लिलाममा प्रमोटर सेयर १०१ मा र साधारण सेयर २०० मा कटअफ

  २०७५ पुष २२ गते २२:१०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लिलामीमा राखेको करिव ७९ लाख १० हजार कित्ता सेयर सबै बिक्री भएको छ । बैंकको साधारण सेयर प्रतिकित्ता २०० भन्दा बढी मूल्यमा आवेदन गर्नेले पाएका छन् भने प्रमोटर सेयर १०१ रुपैयाँमा आवेदन गर्नेले पाएका छन् ।
तर प्रमोटर सेयर विद्यमान प्रमोटर सेयरधनीले मात्र पाएका छन् । यसअघि प्रमोटर सेयर नभएकाले १०२ रुपैयाँ भन्दा बढी मूल्य कबोल गरे पनि नपाएको निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका अनुसार संस्थापक समूहतर्फ १०१ रूपैयाँ कटअफ भएको छ । साधारण समूहको सेयर २०० भन्दा कममा आवेदन गर्नेले नपाउने भएका छन् । साधारण सेयरतर्फ क्वालिफाइड आवेदन छनौट गर्दा कटअफ मूल्य केही परिवर्तन हुनसक्ने बताइएको छ ।

नागरिक लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँको दरले करिव ३५ लाख कित्ता संस्थापक सेयर हात पारेको छ । कोषले ७९ कित्ता सेयर नै लिन आवेदन गरेको थियो । कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको र सर्वसाधारण समूहतर्फको सेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा आवेदन दिएको हो । कोष बैंकको संस्थापक र साधारण सबै सेयर किन्न ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ बुझाएको थियो ।

बैंकमा कोषको प्रवेश र एनबी समूहको हिस्सामा आएको गिरावटसँगै बैंकमा विद्यमान सेयरधनीमा खुशी देखिएको छ । एनसीसी बैंकको बोर्डमा अब एनबी समूहको सेयर करिव ११.५ प्रतिशतमा सीमित भएको छ ।

एनसीसी बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १९८ कित्ता शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बोलपत्र आह्वान गरेको थियो । पुस ११ देखि २० गतेसम्म आवदेन खुला रहेकोमो संस्थापक समूहतर्फ ११९ वटा र सर्वसाधारणको लागि ४ हजार ९२२ वटा आवेदन परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.