सेयर ब्रोकर कम्पनी आशुतोष कालोसूचीमा, धिताेपत्र बाेर्डले लाइसेन्स खारेज गर्न सक्ने

  २०७५ पुष ९ गते १७:१२     विकासन्युज

काठमाडौं । सेयर बजार घट्दा लगानीकर्ता तनाबमा छन् । कति लगानीकर्ता बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा पर्ने त्रासमा छन् ।

यहाँ लगानीकर्ताको मात्र कुरा छैन, सेयर ब्रोकर कम्पनी समेत कालोसूचिमा परेका छन् ।

सेयर ब्रोकरको काम गर्दै आएको आसुतोष ब्रोकर एण्ड सेक्युरिटी प्राइभेट लिमिटेडलाई कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ ।

कम्पनीका सञ्चालकहरु दीपककुमार अग्रवाल, लक्ष्मणप्रसाद अग्रवाल, राजेशकुमार अग्रवाललाई पनि कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ ।

बैंकबाट लिएको कर्जा तोकिएको समयमा भुक्तानी नगर्नेलाई बैंकको सिफारिसमा केन्द्रले कालोसूचिमा राख्छ । बैंकसँगको सम्झौता अनुसार कर्जा नतिरेका ७ हजार १५९ कम्पनी तथा व्यक्तिलाई कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ ।

आशुतोषले काठमाडौं र इटहरीबाट सेयर ब्रोकरको काम गर्दै आएको छ । यो कम्पनीका मालिकहरु प्रायः भारतमा बस्ने गरेको जानकारहरु बताउँछन् ।

मालिकहरुले अशोककुमार झालाई कम्पनी सञ्चालनको जिम्मेवारी दिएका छन् । स्रोतका अनुसार आसुतोषले केही लगानीकर्तालाई दिएको चेक बाउन्स भएको छ । उक्त कम्पनीमा १७ वर्षदेखि काम गर्दै आएको सन्तोष भुर्तेल पनि गलत कारोबार विवादमा तानिएका छन् ।

भुर्तेल  विरूद्ध महानगरिय प्रहरी कार्यालय टेकुमा उजुरी पनि परेकाे छ । उनले आईसीएफसी फाइनान्ससँग  मिलेर विभिन्न व्यक्ति तथा संस्थालाइ ठगेकाे उजुरीमा उल्लेख छ ।


कालोसूचिमा परेपछि उक्त कम्पनीको लाईसेन्स खारेज हुन सक्ने नेपाल धितोपत्र बोर्ड सम्बद्ध स्रोतले बतायो । धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १८का आधारमा आसुतोषको ब्रोकर लाईसेन्स खारेज हुन सक्ने श्रोतले जनाएको छ ।

(मंगलबार १०:४० थप अपडेट गरिएकाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.