साेमबारकाे बजारमा उतारचढाव, नेप्से ६ अंकले घट्दा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

  २०७५ पुष ९ गते १५:१७     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेलगत्तै बढेर १२०७ अंकमा पुगेको नेप्से करिब एक घण्टामा घटेर ११९२ अंकमा झरेको थियो । त्यसपछि पुनः बढेर १२०० अंकमा पुगेको परिसूचक एक बजे घटेर ११९२ अंकमा नै झरेको थियो । पछि पुनः सुस्त गतिले बढेर ११९९ अंकमा पुगेको परिसूचक अन्तत बजार बन्द हुँदा ११९१ अंकमा झरेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेर ११९१.७४ अंकमा अडिएको छ ।

तीब्र उतारचढाव देखिएको सोमबारको बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिन ८७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ७९ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन आइतबारको तुलनामा ८ करोड रुपैयाँ घटी हो ।

बजारमा कुल १६८ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये एनएमबी बैंक लिमिटेडको ९ करोड ९५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको पनि ८ करोड २६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।

उतारचढाव देखिएको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सो मध्ये हाथवे फाइनान्स कम्पनी र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था र जलविद्युत लगानी तथा विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९५ प्रतिशत र ९.८७ प्रतिशत कमाएका छन् ।

सो दिन सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.६७ प्रतिशतले घटेको छ । त्यस्तै, मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ७.०४ प्रतिशतले घटेको छ ।

बजारमा कारोबारमा आएका ११ समूह मध्ये अधिकांश समूहको सूचक राताम्मे भएका छन् । विभिन्न ७ समूहको सूचक राताम्मे भएका छन् भने बाँकी ४ समूहको सूचक हरिया देखिएका छन् । जीवन बीमा, फाइनान्स, उत्पादनमूलक र अन्य समूह उकालो लागेका छन् । सो दिन होटल समूह ३२, निर्जीवन बीमा २० र बैंकिङ् समूह १० अंकले घटेका छन् । बाँकी समूह भने एकल अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.