१ हजार रुपैयाँ बचत गर्नेलाई १० लाखको बीमा, विनाधितो ७ प्रकारका कर्जा ८ प्रतिशत व्याजमा

  २०७५ पुष २ गते १६:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने बैंकले जनाएको छ ।

विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा विनाधितो प्रदान गर्न लागिएकाे जनाएकाे छ ।

बैंकले एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ ।

त्यसैगरी, बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ ।

यस्ताे कर्जा बढीमा पाँच वर्षकाे लागि प्रदान गरिने छ । कर्जा लिन व्यवसायिक याेजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेकाे, ४० वर्ष भन्दा कम उमेरकाे, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम  लिएकाे हुनुपर्नेछ ।

यी सात प्रकारका कर्जाकाे व्याज करिब ८ हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । यस्ताे कर्जामा कुनै पनि प्रकारका शुल्क नलाग्ने प्रमुख व्यापार अधिकृत गाेविन्द घिमिरेले जानकारी दिए ।

त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् । यस्ताे कर्जा लिन धिताे आवश्यक हुनेछ ।

हजार बचतमा १० लाखको बीमा

एनएमबी बैंकले निक्षेपकर्ताहरुलाई “एनएमबि सहारा बचत खाता” नामक नयाँ योजना ल्याएको छ । एक हजार रुपैयाँ बचत राखेर खोल्न सकिने यस खातामा निक्षेपकर्ताले ७ प्रतिशत व्याज र १० लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउने छन् ।

बैंकले विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएको अवस्थामा बैंकले निक्षेपकर्तालाई बीमा वाफत १० लाख रुपैयाँ भुक्तानी दिनेछ । बचतकर्ताको बीमा शिखर इन्स्योरेन्समा हुनेछ ।

बचतकर्तालाई गम्भिर रोगहरु लागेको रिपोर्टसहित डाक्टरले सिफारिस गरेपछि उपचार हुनु पूर्व नै बीमा दावी भुक्तानी गरिने शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।

बचतकर्तालाई व्याजले मात्र आकर्षित नगरी अतिरिक्त सुविधा दिने उदेश्यसहित यस्तो योजना ल्याएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘थोरै रकम बचत राखेर खोल्न सकिने एनएमबी सहारा बचत खाता’मा व्याज पनि उच्चतम दिएका छौं । बीमा सुविधा पनि राम्रो दिएका छौं’ केसी भन्छन्–यसले सर्वसाधारणमा बचत गर्न प्रोत्साहित गर्नेछ ।’

यस्ताे बचत खाता जाे काेहीले पनि खाेल्न सक्ने र सबै उमेरका बचतकर्तालाई बीमामा सहभागि गराइने केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.