नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड ६० लाख हुने, सामानकाे प्रतिकेजी डेढ लाख रूपैयाँ

  २०७५ मंसिर २९ गते १२:४७     विकासन्युज

निगमकाे जहाजकाे फाइल तस्बिर

काठमाडाैं । नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धिलाई केही महिना पहिले अनुमोदन गरेको नेपालले शुक्रवार मध्यरातदेखि उक्त महासन्धि लागु गर्ने भएको छ। त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अधिकारीहरूले बताएका छन्।

उक्त महासन्धिपछि नेपालमा दर्ता भएका र अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीहरूका हकमा लागु हुने बताइएको छ।

जसअनुसार विमान दुर्घटनामा यात्रुको ज्यान गएमा २० हजार अमेरिकी डलर पाउने हालको व्यवस्थामा परिवर्तन हुने र उक्त रकम झण्डै १ लाख ६० हजार अमेरिकी डलर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

जुन रकम नेपाली रुपैयाँमा १ करोड ६० लाखभन्दा बढी हुन आउँछ। यसका अतिरिक्त विमान कम्पनीको लापरवाहीका कारण दुर्घटना भएमा उक्त रकमभन्दा धेरै रकम पाउने व्यवस्था समेत महासन्धिमा गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मृतक यात्रुका आफन्त अदालत गएमा बीमा रकम अदालतको आदेश अनुसारको हुने सहसचिव लामिछानेले बताए।

जहाजमा रहेको कार्गो सामान नष्ट भएमा प्रतिकेजी २४ डलर र यात्रुको सामान नष्ट भएमा १४ सय डलरको व्यवस्था उक्त महासन्धिले गरेको छ।

उडानमा हुने ढिलाइबापत पनि क्षतिका लागि ६ हजार डलर व्यवस्था गरिएको भए पनि त्यो कसरी लागु हुने भन्नेबारे स्पष्टता नरहेको बताइएको छ।

नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने तीनवटा विमान कम्पनी रहेका छन्। नेपाल वायुसेवा निगमका पाँचवटा जहाज, हिमालय एयरका तीनवटा जहाजले विभिन्न देशमा उडान गर्दै आएका छन् भने बुद्ध एयरले भारतको वनारसमा उडान गर्दै आएको छ।

आन्तरिक उडानका हकमा पनि हाल रहेको बीमा रकमको व्यवस्थालाई परिवर्तन गर्नेबारे छलफल भइरहेको र यसबारे पनि छिट्टै निर्णय लिइने सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.