सचिव गुरुङको नेतृत्वमा टेलिकमको प्रबन्ध निर्देशक छान्न ३ सदस्यीय समिति गठन, अर्को हप्ता आवेदन खुल्ने

  २०७५ मंसिर २८ गते १४:१५     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक नियुक्तिको लागि ३ सदस्यीय समिती गठन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिती गठन भएको हो ।

समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेका छन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितीले केहिदिनमै आवेदन खुलाउने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । नेपालको सबैभन्दा ठुलो टेलिकम कम्पनीको रुपमा रहेको नेपाल टेलिकममा नयाँ नेतृत्वबारे चर्चा सुरु भएको हो ।

गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त थियो । भण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलार्इ नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो ।

उक्त समितिले प्रबन्ध निर्देशकमा खुल्ला प्रतिस्पर्धाका लागि आव्हान गर्नेछ । प्रबन्ध निर्देशकका आकांक्षीहरुमध्ये छनौट समितिले उत्कृष्ट ती जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने व्यवस्था छ । प्रवक्ता तिवारी अनुसार गठित समितिले काम सुरु गरेको २१ दिनभित्र आवेदकहरुबाट छानेर ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलार्इ मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ ।

नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याकं अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन् जुन कुल प्रयोगकर्ताको ४० प्रतिशत हो । कुल १५ अर्ब चुक्ता पुँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।

टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीको दैनिक प्रशासनिक कार्यमा समेत असर परेको टेलिकम स्रोतको दाबी छ ।

सरकारले टेलिकम सहित नेपाल आयल निगम, खाद्य संस्थान, दुग्ध विकास संस्थान लगागतमा प्रमुख नियुक्तीको प्रक्रिया अघि बढाइरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.