सोना मनसुली धान प्रतिक्वीन्टल २७००, खाद्य संस्थानभन्दा निजी क्षेत्रलाई धान बेच्दै किसान

  २०७५ मंसिर २४ गते १५:५७     विकासन्युज

काठमाडौं । सङ्घीय सरकारले धान खरिदको न्यूनतम समर्थन मूल्य तोकेपनि पर्साका अधिकांश किसान नेपाल खाद्य संस्थानमा नभई निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका छन्।।

नेपाल खाद्य संस्थानभन्दा महङ्गो मूल्यमा धान खरिद गर्ने हुँदा उनीहरु निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका हुन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । तर निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्वीन्टल दुई हजार ७०० सम्ममा खरीद गर्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।

संस्थानको मूल्यभन्दा स्थानीय व्यापारीले प्रति क्वीन्टल दुई सयदेखि रु ३०० सम्म बढी मूल्यमा खरीद गर्ने भएकोले हामी निजी क्षेत्रलाई बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल रु दुई हजार ५२५ तथा जिरामसिनो धान प्रति क्वीन्टल रु तीन हजार २००का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले बताए ।

संस्थानले चालु आर्थिक वर्ष २०७५÷७६ मा १५ हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्वीन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिलो आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरामसिनो धान खरीद गरेको थियो ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना मन्सुली, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्वीन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटस्थित कारागारमा पनि पठाउने गरेको छ ।

गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल संस्थानले पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताए ।

प्रमुख घिमिरेले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सरकारले तोकेअनुसारको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा र बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा गरेको धानखेतीबाट दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.