कालिका लघुवित्तले १६ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट

  २०७५ मंसिर २० गते १४:३५     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

हालै सम्पन्न संस्थाको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ नाघ्ने छ ।

बोनस घोषणा गरेको दिन बिहीबार संस्थाको सेयर किन्ने भन्दा बेच्नेको चाप देखिएको थियाे । सो दिन दिउँसाे २ बजेसम्म ७९४ कित्ता सेयर बिक्रीमा रहेको थियाे तर किन्ने कोही पनि देखिएका थिएनन् । यसको मतलब संस्थाले घोषणा गरेको लाभांशमा सेयरधनी उत्साहित छैनन् भन्ने बुझिन्छ ।

अन्तत: बिहीबारको बजार बन्द हुँदा संस्थाको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.