सेयर बजार दोहोरो अंकले बढ्यो, लक्ष्मी लघुवित्तका सेयरधनीले कमाए ९ प्रतिशत बढी

  २०७५ मंसिर १८ गते १५:२०     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि नै उकालो लागिरहेको बजारमा नेप्से परिसूचक १०.२७ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.९१ प्रतिशतले बढेर ११४२.०१ अंकमा पुगेको छ ।

सो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएता पनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ३८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँ घटी हो ।

मंगलबार कुल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम र कित्ता दुबैको आधारमा नेपाल बैंकको बढी कारोबार भएको छ । बैंकको ३ लाख ८९ हजार ४६९ कित्ता सेयर ११ करोड ४२ लाख रुपैयाँमा किनबेच भएको छ । केहि दिनदेखि यस बैंकको सेयर कारोबारमा सुधार हुँदै आइरहेको छ ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ७६१ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांशलाई आगामी पुस १ गते बस्ने वार्षिक साधारणसभाले पारित गर्ने छ । सो प्रयोजनको लागि संस्थाको मंसिर १९ अर्थात भोलिदेखि बुक क्लोज हुँदै छ । त्यसैले लगानीकर्ताहरु यस संस्थाको सेयरमा आकर्षित भएका जानकारहरु बताउँछन् ।

त्यसपछि ग्लोबल आईएमई बैंकको ३ करोढ ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने निर्णय घोषणा गरेपछि संस्थाको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३१७ रुपैयाँमा पुगेको छ ।

बजारमा सबैभन्दा बढी विकास बैंकको समूह उकालो लागेको छ । विकास बैंकको सूचक ३२, निर्जीवन बीमा २०.०१, अन्य समूह १८ र जीवन बीमा १५ अंकले बढेका छन् । दुई समूह होटल र ट्रेडिङ बाहेक बाँकी समूह सामान्य अंकले बढेका छन् । होटल र ट्रेडिङ समूह क्रमशः ३.८१ र ०.५१ अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.