थामियो नेप्सेको गिरावट, कारोबार रकममा उत्साहजनक सुधार

  २०७५ मंसिर १७ गते १५:२०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्सेको गिरावट थामिएको छ । दिनभर भारी उतारचढाव भएको बजारमा परिसूचक अन्तत सामान्य अंकले बढेर बन्द भएको छ । समग्रमा सो दिनको परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको छ ।

परिसूचकमा उतारचढाव आएतापनि सेयर कारोबारमा उत्साहजनक सुधार भएको छ । सो दिन कुल १५६ कम्पनीको ६३ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबारको बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यस बैंकको एकैदिन ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य सोमबार एक रुपैयाँले बढेर प्रतिकित्ता २९३ रुपैयाँ भएको छ । बैंकको एफपीओ आवेदकहरुको लगानी डिम्याट खातामा आएकोले कम्पनीको सेयर खरिदबिक्रीमा चाप बढेको जानकारहरु बताउँछन् । त्यसपछि मुक्तिनाथ विकास बैंकको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् ।

सोमबार निर्जीवन बीमा र जीवन बीमा दुबैको समूहको सूचक दोहोरो अंकले बढेका छन् । निर्जीवन बीमा समूह ९२, जीवन बीमा समूह १३, विकास बैंक ४.७ र अन्य समूह ०.४३ अंकले उकालो लागेका छन् । त्यस्तै, कारोबारमा आएका अन्य बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् ।

बजारमा विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६९५ रुपैयाँ रहेको छ । सो दिन रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.