कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का, सर्वोच्च अदालतले पुष २६ गते सुनुवाइ गर्दै

  २०७५ मंसिर १२ गते ११:४८     विकासन्युज

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजी क्याम्पसको भर्ना रोकिएको छ । विद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको हो । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न आदेश दिएको छ ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिको बैंठकले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्ने निर्णय गरिएको हो ।

यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ । दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको सूचनाबाट आवेदन दिएकाले प्रवेश परीक्षा दिन पाउने भएका छन् । निजीलाई सम्बन्धन दिने/नदिने विषयमा सर्वोच्च अदालतले पुस २६ गते सुनुवाइका लागि पेशी तोकेको छ । सो पश्चात निजीको भर्ना प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय गरिने विश्वविद्यालयले जानकारी दिएको छ ।

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलनमा उत्रिएका हुन् । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । सो पश्चात् सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्ने आदेश जारी भएसँगै विश्वविद्यालयलाई भर्ना खोल्नेजानकारी दिएको छ ।

सो पश्चात् विद्यार्थीले सम्बन्धन दिने निर्णयविरुद्ध रिट निवेदन पेश गरेको भए पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्ने आदेश दिएको छ । तर विश्वविद्यालयले आन्दोलन थेग्न नसकेपछि सर्वोच्चको सुनुवाइ कुर्ने गरी हालका लागि निजीको भर्ना प्रक्रिया रोक्का गरेको छ ।

विश्वविद्यालयको कृषि सङ्कायको डिनको कार्यालयले कात्तिक २५ गतेबाट मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत भर्ना फारम खोलेको थियो । वन सङ्कायले कात्तिक २० गते नै भर्ना खोलेको थियो । वनको मङ्सिर १६ गतेसम्म भर्ना फारम भर्ने समय तोकिएको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.