२५ सय तिरेर ५० हजारको बीमा, ४२० रुपैंयाँमा ११ लाख ?

  २०७५ मंसिर २ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले समाजिक सुरक्षाका लागि भन्दै ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको प्रिमियम २५ सय रुपैंयाँ पर्छ । त्यसले पाँच जनाको परिवारलाई बार्षिक ५० हजार रुपैयाँको मात्रै स्वास्थ्योपचार सुबिधा दिन्छ । तर कर्मचारी सञ्चय कोषले ४२० रुपैंयाँ प्रिमियममा १० लाख रुपैंयाँको स्वास्थ्योपचार सेवा उपलब्ध हुने कार्यक्रम ल्यायो, त्यो पनि बीमा व्यवसाय गर्ने राष्ट्रिय बीमा कम्पनी मार्फत । अझै त्यसमा बिभिन्न जटिल प्रकृतिका घातक रोग समेत समेटिएका छन् ।

सरकारले तामझाम सहित नागरिकको समाजिक सुरक्षाको जिम्मेवारी लिने भन्दै २५ सय रुपैंयाँ असुलिरहेका बेला ४२० रुपैंयाँमै ११ लाखको बीमा कार्यक्रम आएपछि सरकारी कार्यक्रमको औचित्य माथी भने प्रश्न उठेको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नै २५ सय प्रिमियममा ११ लाख रुपैंयाँको बीमा गरिदिने दावी गरिरहेका छन् । ‘हामी २५ सय रुपैंयामा त जटिल प्रकृतिका रोगहरु समेट्ने १० लाख रुपैंयाँको बीमा गराउन सक्छौं, सरकारले नागरिकसँग चर्काे शुल्क असुल्यो’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।

बीमा समितिले पनि २५ सय रुपैंयाँमा १० लाख भन्दा बढिको जोखिम वहन गर्न सक्छौं भन्दै बीमा कम्पनीका सिइओहरु आईरहेको बताएको छ । ‘बीमा कम्पनीका सिइओहरुले २५ सय रुपैंयाँमा १० लाख भन्दा धेरैको बीमा गर्न सक्छौं भनिरहेका छन्’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । कर्मचारी सञ्चय कोषले ४२० रुपैंयाँमा ११ लाखको बीमा गरिदिएपछि अब सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम भने जोखिममा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.