शिक्षाको रुपान्तरण र गुणस्तर सुधारका लागि विश्व सम्मेलन काठमाडौँमा हुँदै

  २०७५ कार्तिक २९ गते २२:१६     विकासन्युज

काठमाडौं। शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनका लागि विश्वभरका २५० नागरिक समाजका प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।

‘न्याय, समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा प्रणालीमा रुपान्तरण’ विषयको मुख्य शीर्षक राखिएको सम्मेलनमा करीब १०० मुलुकका सहभागी हुनेछन् ।

सम्मेलनमा नागरिक समाजका प्रतिनिधि, शिक्षा अभियानकर्मी, युवा वकालतकर्ता भेला भई सार्वजनिक शिक्षाको रुपान्तरण र गुणस्तर सुधारका लागि भावी योजना तय गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार उद्घाटन गर्ने सम्मेलनमा संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मदले कार्यपत्र प्रस्तुत गर्नेछन्। उपमहासचिव मोहम्मद काठमाडौँ आइसकेका छन् । उनले प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटघाट गर्नेछन्।

सन् १९९९ मा सेनेगलको डकारमा भएको विश्व शिक्षा मञ्चको सम्मेलनपछि अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रियरुपमा सबैका लागि शिक्षा अभियानको थालनी भएको र छैटौँ सम्मेलनले शिक्षाका नीतिगत परिवर्तनका लागि खाका तयार गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घले पारित गरेको सन् २०३० सम्मको दिगो विकास लक्ष्यलाई पछ्याउँदै शैक्षिक सुधारका लागि सम्मेलनमा छलफल हुने जिसिइका अध्यक्ष क्यामिला क्रोसेले बताए। जिसिइका प्रथम अध्यक्ष नोबेल पुरस्कार विजेता डा कैलाश सत्यार्थी छन्। हाल विश्वभर दुई अरब ६२ करोड बालबालिका विद्यालय बाहिर रहेको मानिन्छ ।

सम्मेलनको आतिथ्यता गरेको जिसिइको नेपाल च्याप्टरका रुपमा कार्यरत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालका अध्यक्ष कुमार भट्टराईले नेपालमा यसप्रकारको पहिलो विश्व शिक्षा सम्मेलन हुन लागेकाले शैक्षिक अधिकार स्थापनाको अभियानमा नयाँ खुट्किलो सावित हुने बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.