आठ कम्पनीकाे ३ अर्ब ८३ करोडकाे हकप्रद अाउँदै

२०७५ कार्तिक २७ गते १७:५७ विकासन्युज

काठमाडौं । विभिन्न आठ कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको तीन करोड ८३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।

आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले ८९ करोड तीन लाख रुपैयाँ बराबरको ८९ लाख तीन हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले ३ करोड ९८ लाख रुपैयाँ बराबरको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

वित्त समूहको सिर्जना फाइनान्सले दश बराबर छ कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले २४ करोड चार लाख रुपैयाँ बराबरको २४ लाख चार हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता शेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले १४ करोड तीन लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले दुई अर्ब १० करोड रुपैयाँ बराबरको दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन ।

माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । एक करोड १० लाख रुपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै बोर्डले विभिन्न तीन कम्पनीका १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । रासस