उच्च ब्याजदर र नगद लाभांश चेपुवामा सेयर बजार, सानिमा र एभरेष्टकाे लाभांश घाेषणाकाे सन्देश के ?

  २०७५ कार्तिक १८ गते १०:५६     विकासन्युज

काठमाडौं । बैंकको उच्च व्याजदर र नगद लाभांशको प्रभाव सेयर बजारमा देखिएको छ । मन्द गतिमा विगत १२ महिनामा गिर्दो अवस्थामा रहेको सेयर बजारले अझै उकालो पथ समाउन छाटकाँट देखिएको छैन ।

एनआईसी एशिया बैंकले ११ प्रतिशत व्याजदरमा १० वर्षे ऋणपत्र जारी गर्याे । सिदार्थ बैंकले १०.५ प्रतिशतमा ७ वर्षे ऋणपत्र जारी गर्दैछ । सानिमा बैंकले १० प्रतिशत व्याजदारमा १० वर्ष अवधिको ऋणपत्र जारी गर्दैछ ।

बैंकहरुले जारी गरेको ऋणपत्र अवधि र व्याजदरले प्रष्ट पारिरहेको छ कि आगामी ८/१० वर्ष मुद्दति निक्षेपको व्याजदर दुई अंकमा नै रहने छ । सबैभन्दा बढी निक्षेप परिचालन गरेको एनआईसी एशिया बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले आगामी १० वर्ष बैंकहरुले व्याज घटाउन नसक्ने भनाई सार्वजनिक रुपमा राखिसकेका छन् ।

तीन दशकपछि मुलुकमा राजनीतिक स्थायीत्व देखिएको, तीन दशकयता उच्चदरको आर्थिक वृद्धि देखिएको, अहिलेको आर्थिक वृद्धिले स्थायीत्व पाउने आकलन भईरहेको, कर्जाको माग उच्च रहेको र बैंकहरुले पनि दीर्घकालिन प्रकृतिको कर्जा लगानीलाई जोड दिएका बैंकको व्याजदर नघट्ने अनुमान गरिएको छ । देशको आर्थिक वृद्धिदर उच्च रहेको बेला कुनै पनि देशमा कर्जाको माग बढी हुने र त्यसले कर्जा र निक्षेप दुबैको व्याज माथि लैजाने अर्थविद् स्वार्णिम वाग्लेको भनाई छ ।

मुद्दति निक्षेपको व्याजदर १० प्रतिशत रहदा कर्जाको व्याजदर १२ प्रतिशतभन्दा माथि रहन्छ । प्राथमिकताका क्षेत्रमा जाने कर्जाको व्याज १२ प्रतिशत हुँदा कम प्राथमिकताको सूचिमा रहेका सेयर कर्जा र रियलस्टेट कर्जाको व्याज १४ प्रतिशतभन्दा माथि रहन्छ । १४ प्रतिशत व्याजमा कर्जा लिएर सेयरमा लगानी गर्दा लगानीकर्तालाई पोषाउँदैन ।

यहि बास्तविकता बुझेका लगानीकर्ताले यतिबेला सेयरमा लगानी खन्याएका छैनन् । परिणाम सेयरको किनबेच पनि कम छ भने विगत एक वर्षमा सेयरको मूल्य निरन्तर घट्दै गएको छ ।

बोनस सेयरको सट्टा नगद लाभांश

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एभरेष्ट बैंकले पनि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी पुगेको र पुँजी प्रयाप्तताको अभाव नभोगेको बैंकरुले नगद लाभांश दिने छन् । अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी यहि पोजिसनमा छन् ।

नेप्सेमा सूचिकृत भएका ६० ओटा भन्दा बढी कम्पनीहरुले यो वर्ष साधारणसभा बोलाइसकेका छन् । मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १७.७ प्रतिशत, मितेरी विकास बैंकले १७ प्रतिशत, तिनाउ विकास बैंकले १२ प्रतिशत, गरिमा विकास बैंकले १० प्रतिशत र महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गर्नुबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु नगद लाभांश दिने भएका छन् ।

सेयरधनीहरुको दबाबमा बोनस सेयर घोषणा गर्न बाध्य भएका केही संस्थाले प्रस्ताव गरेको बोनस सेयरको मात्र नगन्य छ । त्यसैले पुँजी पर्याप्तता अनुपातको चापमा रहेका केही बैंकहरु बाहेक अन्य बैंकहरु यो बर्ष नगद लाभांश नै दिनेछन् ।

बैंकहरुले अहिले लगानी गर्न योग्य पुँजीको अभाव सामना गरिरहेको बताइरहेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात सीमान्त अवस्थामा पुग्न लागेको छ । यसले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा वृद्धि गर्दै लगेको छ । निक्षेपको ब्याजदर १० भन्दा बढी नबनाउने गरी वाणिज्य बैंकहरुले भद्र सहमति गरे पनि विकास बैंक र वित्तीय संस्थाहरुको हकमा त्यो लागु भएको छैन । अझ केही ठूला निक्षेपहरुका लागि बैंकहरुले भद्र सहमति तोड्ने गरेको नजिरकाबीच यस्तो सहमतिको कार्यान्वयनप्रति बजारका लगानीकर्ताहरु सशंकित नै छन् ।

निक्षेपमा प्राप्त हुने प्रतिफलसँग सेयर बजारको सामान्यतया विपरित सम्बन्ध हुन्छ । उच्च ब्याजदरले बजार परिसूचकलाई तलतिर झार्न दबाब दिन्छ । त्यसमाथि सेयर बजारमा ठूलो हिस्सा ओगटेको बैंकिङ क्षेत्रले नै व्यवसाय विस्तार गर्नेगरी पुँजी वृद्धि गर्न ‘स्टक डिभिडेन्ड’ दिनमा अनुदार हुँदा सेयर बजार दोहोरो मारमा परेको छ ।

उता, नेपाल राष्ट्र बैंकले पनि बैंकहरुको समस्या समाधान गर्न पहल गरेको छैन । मौद्रिक नीतिमार्फत् अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) घटाइदिएर सरकारी आन्तरिक ऋण संकलनलाई सहज बनाइदिए पनि सीडी रेसियो खुकुलो गर्नेतर्फ ध्यान दिएन । यसले गर्दा बजारमा पर्याप्त तरलताका बाबजुद बैंकहरु हाल लगानी गर्न नसक्ने अवस्थामा छन् । बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको स्थानीय तहको निक्षेपलाई समेत निक्षेपको रुपमा गणना गर्न नपाउने व्यवस्थाले पनि यो संकट थप बढाउन सहयोग गरिरहेको छ । यी सबै परिघटनाहरुको प्रभाव सेयर बजारमा पर्नाले बजार लामो समयदेखि माथि उठ्न सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.