क्षमता विस्तारमा हेटौडा सिमेन्ट उद्योग, दैनिक २ हजार टन उत्पादन गर्ने

  २०७५ कार्तिक १७ गते १६:३४     विकासन्युज

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार एवं विकास गर्न लागेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरुपमा विकास गर्न र क्षमता सुधार्नका लागि १ अर्ब रुपैयाँ खर्च लाग्ने भएकाले त्यसअनुरुप रकम जुटाउने प्रयास भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

‘‘उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि र मूल्य घटाउन लागेको र उद्योगको भट्टीका सामान प्रविधियुक्त जडान गर्नेतर्फ समेत लागेका छौँ’’ महाप्रबन्धक सिंहले भने। २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको त्यहाँका कर्मचारी बताउँछन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।

लामो समयदेखि विभिन्न कारणले घाटामा रहेको उद्योग दुई वर्षदेखि नाफामा छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको उत्पादन गुणस्तरीय भएकाले यसको माग सर्वसाधारणमा अत्यधिक रहेको सिमेन्ट व्यवसायी अजय अग्रवालले बताए । निजी क्षेत्रका धेरै उद्योग खुले पनि यसले आफ्नो उत्पादन क्षमताको विकास गरेमा बजारमा सबैभन्दा बढी यो सिमेन्ट नै बिक्री हुने इञ्जिनीयर हरि पोखरेलले बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.