मेलम्चीको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न, भेन्टिलेशनको काम धमाधम

  २०७५ कार्तिक १६ गते १७:१४     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार २७.६२ किलोमिटर लामो सुरुङमध्ये २२.१२ किलोमिटर सुरुङको फिनिसिङ सम्पन्न भैसकेको छ । बाँकी रहेको ५.५ किलोमिटर सुरुङको पनि आगामी एक महिनाभित्रै फिनिसिङ भैसक्ने कार्यकारी निर्देशक कँडेलले जानकारी दिए ।

सुरुङमा हावा प्रवेशका लागि भेन्टिलेशन निर्माणको काम पनि आरम्भ गरिसकेको उनले जानकारी दिए । आयोजनाले ३ वटा भेन्टिलेशन निर्माण गरेर सुरुङमा अक्सिजनको आपुर्ति गर्दैछ । त्यस्तै सुरुङ मार्ग छेक्ने ढोकाहरुको निर्माण कार्य पनि सुरु भैसकेको छ । आगामी २ महिनामा सुरुङका सबै काम सम्पन्न हुने बताए ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम अनुगमन गर्न गठन गरेको समितिका संयोजक तथा पूर्व खानेपानी सचिव भीमप्रसाद उपाध्यायका अनुसार आगामी ३ महिनाभित्र मेलम्चीको पानी राजधानी बासीका धारामा पानी आउनेछ ।

‘सुरुङको काम १ महिनाभित्र सकिन्छ, एक महिनासम्म सुरुङमा पानी हालिन्छ, त्यसपछि एक महिनासम्म काठमाडौंका नयाँ पाइपमा पानी परिक्षण गरिन्छ अर्थात आगामी ३ महिनाभित्र राजधानी बासीका धारामा मेलम्चीको पानी आउँछ ।’ अनुगमन समितिका संयोजक उपाध्यायले भने ।

१५ दिनसम्म मेलम्चीको नयाँ पाइपमा सुन्दरीजलको पानी टेष्ट गरिने र त्यसपछि मेलम्चीको पानी पठाउने बताए । सुन्दरीजलमा पानी खसालेर परिक्षण गर्ने र सुरुमा पुराना पाइपमा हालेर पुनः नयाँ पाइपमा पठाउने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.