सुनबाट पर्यटन र जलविद्युतमा लगानी डाइभर्ट गर्दै छु : ज्योत्सना श्रेष्ठ

२०७५ असोज २१ गते १३:०३ विकासन्युज

ज्योत्सना श्रेष्ठ सुन व्यवसायमा परिचित नाम हो । श्रेष्ठको परिवारले नेपालमा सुन व्यवसाय गरेको १२० वर्ष भइसकेको छ । उनको राजधानीको न्युरोड र दरवारमार्गमा दुई वटा सुन पसल सञ्चालनमा छन् । श्रेष्ठ मेरिगोल्ड ज्वेलर्सका सञ्चालिका, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी सदस्य र नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सुन व्यवसायमा थप चुनौति थपिएपछि श्रेष्ठले आफनो लगानीमा विविधिकरण गर्न थाल्नु भएको छ । उहाँले झापामा होटल बनाइरहनु भएको छ । प्रस्तुत छ, सुन व्यवसाय र लगानी विविधिकरणको विषयमा केन्द्रीत रहेर सुन व्यवसायी श्रेष्ठसंग विकासन्युजका लागि खेमराज श्रेष्ठले गरेको कुराकानी ।

ज्योत्सना श्रेष्ठ, अध्यक्ष नेपाल रत्न तथा आभुषण संघ

तपाई सुन व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?

जब मेरो विवाह भयो २ वर्षसम्म घरमै बसे । त्यसपछि के गर्ने भनेर सोच्दै थिएँ । मेरो श्रीमान र ससुरा पहिलदेखि नै यो व्यवसाय गरिरहनु भएको थियो । विषेशगरी मेरो ससुरा बुबाले मलाई सुन व्यवसाय गर्न हौसला प्रदान गर्नुभयो । महिलालाई ज्वेलरी व्यवसायमा रुचि हुनु स्वभाविक हो । मैले सुरुमा साथीहरुसँग मिलेर ट्रायलका रुपमा सानो सुन पसल खोले । यसमा त्यति अनुभव थिएन । हाम्रो मक्खनमा पनि सुनको पसल थियोे । त्यहाँ सुनको कारोबार सिक्न थाले । त्यसपछि म आफैले सुनको कारोबार सुरु गरे । हाम्रो परिवार सुन व्यवसायमा लागेको १२० वर्ष भइसकेको छ । यसै अनुभवले नै हामीलाई थप नयाँ काम गर्न हौसला प्रदान गरिरहेको छ ।
सुन व्यवसायमा लागेको एक शताब्दी भन्दा बढी भइसके छ ।

सुन व्यवसायमा लागेको एक शताब्दी भन्दा बढी भइसके छ । तपाइले कतिवटा सुनको आउटलेट खोल्नुभयो ?

अहिले मेरो न्युरोड र दरबारमार्ग गरी २ स्थानमा सुन पसल छन् । सुन कारोबार आफैंमा राम्रो व्यवसाय हो, यसमा ठूलो लगानी आवश्यक पर्छ । तर प्रतिफल भने कम हुदै गएको छ । अहिले सुन व्यापार गर्नलाई कठिन बन्दै गएको छ । सुनको कोटा २५ किलो मात्रै तोकिएको छ । महिनाको २ किलो सुन बेचेर हाम्रो खर्च पनि उठ्दैन । अझ सरकारको स्पष्ट नीति नहँदा सुनको व्यापार दिनदिनै कठिन बन्दै गएको छ । हामीले सरकारलाई तिरेको कर अनुसारको सुविधा पनि पाइरहेका छैनौं । सरकारको अनुगमन र शिलबन्दी जस्ता गतिविधिले हामी व्यवसायीहरु थप त्रसित हुने अवस्थामा पुगेका छौं । केही व्यवसायीको पसलमा सिलबन्दी मात्र होइन सामान नै उठाएर सरकारले लगेको छ । यो कहिले फिर्ता हुन्छ थाहा छैन । यस्तो अवस्थाले हाम्रो व्यवसायमा असर परिरहेको छ । अझ कच्चा पदार्थ नहुँदा थप समस्या झेल्नु पर्ने अवस्था छ । भनेजति सुन नपाउनु नपाउनु यस क्षेत्रको समस्या हो । व्यवसायीहरुले पारदर्शी हिसाबले काम गर्ने वातावरण छैन ।

यहाँले सुन कहाँबाट किन्नु हुन्छ ?

हामीले देशका २८ वटै वाणिज्य बैंकबाट सुन किनिरहेका छौं । सबै बैंकमा खाता खोलेका छौं । सबै बैंकबाट सुन खरिद गरिरहेका छौं । सुन बाहिरबाट आउने बस्तु हो । नेपाल र विदेशमा कारोबारको समय फरक पर्छ । विदेशमा सुनको कारोबार भैरहँदा यता नहुँन पनि सक्छ । यस्तो अवस्थामा हामीले मंहगोमा किनेको सुन सस्तोमा बिक्री गर्नुपरेको छ । सबै बैंकमा खाता खोल्ने केवाइसी फारम भर्नुपर्ने जस्ता झण्झट छन् । सरकारले पब्लिक लिमिटेड बनाएर सुन खरिदको व्यवस्था मिलाउदा राम्रो हुन्थियो । आधा बैंक र आधा पब्लिक लिमिटेडलाई कोटा दिएमा सुनको भाउ घटेको समयमा व्यवसायीहरुले किन्न सक्नेछ । यसबाट ठूलो लाभ हुने थियो ।

सुनको थप आउटलेट खोल्ने तयारी गर्नुभएको छ ?

१०० वटा सुन पसल पुर्याउने भनेर पसलको नाम सयपत्री ज्वेलर्स राखेकी हुँ । तर दास्रो शाखामा जाँदा नै मैले हरेस खानु परेको छ । विस्तारै सुन व्यवसायबाट लगानी अन्य क्षेत्रमा डाइभर्ट गर्ने तयारी गरेकी छु ।

कुन क्षेत्रमा लगानी गर्ने तयारीमा हुनुहुन्छ ?

मैले अहिले पर्यटन क्षेत्रमा लगानी बढाएको छु । झापामा भारतीय पर्यटकलाई लक्षित गरी मेची प्यालेस होटल बनाइरहेको छु । जुन ८ महिनापछि सञ्चालनमा आउदै छ । हामीले होटल लगायत जलविद्युत र अन्य लगानीका नयाँ क्षेत्र हेरिरहेका छौं ।

सुनको व्यापार कुन बेलामा बढी हुने गरेको छ ?

सबै चाडपर्वहरुमा उत्तिकै व्यापार हुन्छ । विशेषगरी तीज, दशैं, तिहार र माघे संक्रान्ती लगायत पर्वमा बढी व्यापार हुने गर्दछ । लगभग महिलाको ९० प्रतिशत रेडिमेट गहना व्यापार हुन्छ । किनभने महिलाहरु नै यसको प्रमुख ग्राहक हुन् । पुरुषहरुले १० प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

रेडिमेड गहनाको बजार बाहिरी देशमा कस्तो छ ? विदेशमा बस्ने नेपालीले यहाँबाट गहना लैजानु पर्यो भने संभव छ कि छैन ?

हामीले विदेशमा सिधैं व्यापार गर्न पाएका छैनौं । विदेशमा नेपाली दिदि बहिनीहरु धेरै छन् । उनीहरु वर्षैभरी काममा व्यस्त हुने भएपनि चाडपर्वहरुमा विषेश समय निकाल्ने गर्दछन् । यस्ता अवसरहरुमा उनीहरुले नेपाली गहना लगाउने गर्छन । अहिले सबैभन्दा बढी चर्चामा आएको रानीहार हो । जुन आधा तोलाबाट बन्छ । यसको देश तथा विदेशमा उच्च माग रहेको छ । त्यसैगरी कटहरगेडी आधा तोलामै ४ तोला जस्तो देखिनेगरी बनेका छ । जुन सजिलै निर्यात गर्न सक्ने अवस्था छैन ।

सरकारले के व्यवस्था गर्यो भने व्यवसायीहरुलाई सहज हुन्छ ?

सरकारले अब स्पस्ट नीति बनाउनु पर्यो । सरकारकै अनुमतिमा चलेको सुन पसललाई सिलबन्दी गर्ने व्यापारमा निषेध गर्ने लगायतको काम भैरहेको छ, जुन बिल्कुलै गलत हो । हामीलाई कम्पनी मार्फत पनि सुनको कारोबार गर्नु दिनु पर्छ । हामीले बजारको माग अनुसार सुन पाउन सकिरहेका छैनौं । हामीलाई वार्षिक ४५ देखि ५० किलोसम्म सुन आवश्यक पर्छ । यो सबै व्यवसायीलाई आवश्यक पर्छ भन्ने होइन । आवश्यक हुनेले किन्छन् र आवश्यक नपर्नेले किन्दैनन् । त्यसैले सुन व्यवसायमा अंकुश लगाउनु हुदैंन । अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा विदेशबाट ल्याइने सुनमा कडाई गरेपछि अझ बजारमा सुनको अभाव भएको छ । एक व्यत्तिले कति सुन ल्याउन पाउने हो, स्पष्ट हुन सकेको छैन ।

सुनको भाउ दिनदिनै बढ्ने घट्ने भैरहेको हुन्छ । यसले व्यवसायमा कस्तो असर पारिरहको छ ?

सुनको भाउ अन्तर्राष्ट्रिय बजार अनुसार बढ्ने र घट्ने भैरहेको हुन्छ । हाम्रो स्टक अनुसार सुन किन्ने हो । यदि महंगाेमा किनेर सस्तोमा  बेच्नुपर्ने बाध्यता रहेको छ ।

व्यवसाय बढाउन के कस्ता नयाँ डिजाइनका गहन ल्याउने गर्नु भएको छ ?

हामीले पत्थर, चेन, आधुनिक गरगहना निर्माण गर्ने हलमार्किङ जस्तै मेसिन ल्याउन लागेका छौं । यो नेपालमा पहिलो पटक ल्याउन लागि हो । यो अन्तर्राष्ट्रिय स्तरको हुनेछ र यसलाई  काठमाडौं मै राख्ने तयारी गरेको छाैं। ।

विभिन्न नाका हुदै अवैध रुपमा भित्रिएको सुन नेपाली बजारमै छ कि बाहिर ?

हामीले दैनिकजसो सुन तस्करको समाचार सुनिरहेका हुन्छौं ।तर कुरा प्रस्ट छ, यो सुन नेपाली व्यापारीले बेच्ने होइन, नेपालको बाटो हुँदै भारत पठाउनका लागि मात्र हो । केही अपवादको रुपमा नेपाली व्यापारीहरुले सुन एक दूई किलो किन्ने अवसर प्राप्त गरेका होलान ।  केवल कर छली गर्नका लागि मात्र उनीहरुले तस्कर गरिरहका छन् ।  सरकारले कोटा प्रणाली लगाउँदा देशमा सुनको अभाव बढ्न गई तस्करी हुने गरेको छ ।  नेपाली मुद्रा बाहिर जान्छ भनेर कोटा लगाउनु ठिक हो, तर व्यवसायमै असर पर्नेगरी सुनमा कोटा प्रणाली लागू गर्नु हुदैंन ।

X