राष्ट्र बैंकको चिन्ता नगर्नुस, सहकारीले वित्तिय क्षेत्रमा संकट ल्याउँछ :गभर्नर डा. नेपाल

  २०७५ असोज १९ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजीत एक कार्यक्रममा डा. नेपालले राष्ट्र बैंकको चिन्ता नगर्न आग्रह गरे । सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका हुन् ।

उनले क्रमशः विस्तार हुँदै गैरहेको बीमा क्षेत्रको नियमनमा पनि प्रश्न भने उठाएका थिए । ‘हाम्रो चिन्ता नगर्नुस, राष्ट्र बैंकको नियमन कडा छ, अरुको के छ भनेर हेर्नुस, इन्स्योरेन्सको के छ ? सहकारी क्षेत्रको के छ, अन्य क्षेत्रको के छ हेर्नुस, जसले कुनै पनि बेला वित्तिय संकट निम्त्याउन सक्छ’, गभर्नर नेपालले भने ।

उनले ठूला कारोबार गर्ने सहकारीहरुको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरेको भएपनि त्यो धेरै समय सम्भव नभएको बताए । ‘ठुला कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुको अहिले हामीले नियमन गरिरहेका छौं त्यो कहिलेसम्म सम्भव हुन्छ र ? सहकारीमा ठूलो पैसा छ, जसले जुनसुकै समयमा वित्तिय क्षेत्रको स्थायीत्व हल्लाउन सक्छ’, नेपालले भने ।

उनले पैसाको कारोबारलाई सधै कडा नियमन आवश्यक रहेको बताउँदै वित्तिय संस्था भन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्नेमा जोड दिए । उनले वित्तिय क्षेत्रको स्थायीत्वमा पनि दिगोपन र निरन्तरता आवश्यक रहेको धारणा राखे । गभर्नर नेपालले वित्तिय स्थायीत्वका लागि नै आफुले बैंक तथा वित्तिय क्षेत्रको पुँजी वृद्धि गरेको तर्क पनि राखे ।

‘थोरै पूँजीका धेरै संस्था हुँदा वित्तिय स्थायीत्वमा प्रश्न आउने भएपछि पूँजी बढाएको हुँ’, उनले भने । बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा जम्मा १.६ प्रतिशत मात्रै रहेको तथ्यांक पनि उनले देखाए । नेपालले भुक्तानी प्रणालीलाई छिटोछरिटो बनाउने प्रक्रियामा पनि आफुले ध्यान दिएको बताएका थिए । गभर्नर डा. नेपालले बाणिज्य बैंकहरुको आइटीको समेत अडिट गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.