नेपाली कागजको माग बढ्दो, तनहुँमा दुई करोडको लगानीमा कागज उद्योग

  २०७५ असोज १८ गते १२:५७     विकासन्युज

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो ।

उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिए। नेपाली कागजको माग बढेपछि उनले तीन वर्ष अघि ‘शुक्लागण्डकी कागज उद्योग’ स्थापना गरेका थिए। शुरुमा रु एक करोडको लागतमा उद्योग स्थापना गरिएको हो । “प्रत्येक स्थानीय तहमा नेपाली कागजको प्रयोग हुन्छ, एक वर्षयता सो कागजको माग बढ्दै गएको छ ।”

तनहुँका साथै कास्की, गोरखा, चितवन, लमजुङलगायतका जिल्लामा नेपाली कागजको माग अत्याधिक भएकाले बजारको समस्या नभएको सिग्देलले बताए। “कागजको बिक्री वितरण बढ्दै गएको छ,” उनले भने। दश रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योगमा ३२ जनाले रोजगारी पाएका छन् । मजदुरलाई कागज उत्पादनका आधारमा पारिश्रमिक दिइन्छ ।

उद्योगमा एक हजार ८०० वटा कागज सुकाउने पाता छन्। गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्रा, लोक्तालगायतका कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिन्छ । लोक्ताको प्रयोग गरी नेपाली कागज उत्पादन गरिन्छ । सरकारी कामकाजमा यसको अत्याधिक प्रयोग गरिँदै आएको छ । हस्तकला र सजावटका अन्य सामग्री निर्माण गर्नसमेत नेपाली कागजको प्रयोग हुन्छ ।

कच्चा पदार्थलाई भुस, दाउराले पकाउने (कास्टिङ सोडा राखेर), त्यसलाई पखाल्ने अनि ब्रिज गर्ने (सफा) गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयार हुन्छ । कागजलाई घाममा सुकाउने गरिन्छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.