निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा

  २०७५ भदौ २९ गते १०:१२     विकासन्युज

काठमाडौं । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकाल्यो । सैयौं युवा विद्यार्थी सहभागी भएको जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए ।

नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताइन् । उनले आधा आकाश ढाक्ने महिलाहरु असुरक्षित रहने मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति कसरी सम्भव छ भन्ने प्रश्न समेत गरेकी थिइन् । सरकारले अपराधीलाई पक्रन नसकेको हो वा पक्राउ गर्न नचाहेको हो नागरिक दुविधामा परेको उनको आरोप थियो ।

अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गर्न अनुरोध गरे । उनले बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले देशैभर आन्दोलन गर्ने चेतावानी पनि दए । सरकार निर्मलाले न्याय कहिले पाउँछिन भन्ने ब्यानरमा प्रर्दशन गरेका उनीहरुले हत्यारालाई फाँसी दे, महिला हिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।

दुई तिहाई बहुमत प्राप्त सरकारले बलत्कार तथा हत्या जस्तो गम्भिर अपराधमा संलग्नलाई महिनौंसम्म पक्राउ गर्न नसक्नुले नागरिकमा सरकार र न्याय प्रति नै अविश्वास पैदा भएको अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.