तातोपानी र रसुवागढीमा नेपाल-चीन जोड्ने आधुनिक पुल

  २०७५ भदौ २५ गते ९:४६     विकासन्युज

काठमाडौँ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् ।

ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उनले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन । सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको उक्त शिलान्यास समारोहमा तिब्बत जनकाङ्ग्रेसका अध्यक्षसहितका पदाधिकारीको सहभागिता रहेको सभामुख महराको सचिवालयले जनाएको छ ।

विसं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’का कारण नेपाल–चीन जोड्ने दुवै मितेरी पुल क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मितेरी पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।

शिलन्यास कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासामा शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको हो ।

महावाणिज्य दूतावास नेपाल–चीन सम्बन्धको प्रतीक’

पुल पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको बताए ।

“ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दूतावासमध्येको एक हो”, सभामुख महराले भने, “यो वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोसेढुङ्गाका रुपमा रहनेछ ।”

ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मितेरी पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै उनले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भूगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले सांस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.