काठमाडौंका यी ८ ठाउँमा बन्दैछन् सार्न मिल्ने आकाशे पुल

  २०७५ भदौ २० गते ९:४५     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा निर्माण गर्न लागेको अकाशे पुलको नमुना तयार गरेको छ । कामपाको क्षेत्रभित्र पर्ने सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल निर्माण गर्ने भने पनि तीमध्येको दुई स्थानका लागि कस्तो बनाउने भनी नमुना तयार पारिएको हो । नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । निर्माणपछि पनि ती पुलहरु आवश्यकताअनुसार सार्न सकिने छ ।

यही महिनाको अन्तिमसम्ममा बोलपत्र आह्वान गरी कामअघि बढ्ने कामपाको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनियर रामबहादुर थापाले जानकारी दिए । थापाका अनुसार अन्य ६ स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुलका लागि पनि नमुना तयार पर्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्न लागेको हो । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले नयाँ किसिमका पुल बनाउन लागेको हो ।

सवारीसाधनको अत्यधिक चाप हुने क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।

कानपाले नयाँ ती पुल बनाउन १२ करोड बजेट विनियोजन गरेको छ । कामपाले चालू आवका २०७५/७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गर्दैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.