सगरमाथा सिमेन्ट गुणस्तरहिन, दाङकाे उद्योग र देशभर बिक्री वितरण बन्द

  २०७५ भदौ १२ गते २०:४३     विकासन्युज

काठमाडौं । घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्ट गुणस्तरहिन भेटिएको छ । प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहिन भेटिएपछि गुणस्तर तथा नाप तौल विभागले देशभर सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । दाङ जिल्लामा रहेको यस उद्योगको उत्पादन पनि बन्द गरिएको छ ।

सगरमाथा सिमेन्ट उत्पादनमा प्रयोग भएको केमिकल र फिजिकल (क्लिङकर) दुबै कच्चा पदार्थ गुणस्तरहिन पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । कम्पनीको उत्पादन गुणस्तरहिन भेटिएपछि सर्वसाधारण उपभोक्ताको हितलाई ध्यानमा राखेर तत्काल देशभर सगरमाथा सिमेन्टको बिक्री वितरण रोक लगाइएको उनले जानकारी दिए ।

कम्पनीका जनसम्पर्क अधिकृत अमर सुवेदीले सगरमाथा सिमेन्टको ओपीसी प्रडक्टमा ओजीएम तोकिएको मापदण्ड भन्दा बढी भएको जनाउँदै गुणस्तर विभागले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको बताए । ‘ओएमजी ५ प्रतिशत हुनु पर्नेमा सगरमाथामा ५ दशमलव ५ देखियो । त्यसैका आधारमा बिक्री वितरण रोक्न निर्देशन आएको छ’ सुवेदीले भने ।

विभागको निर्देशन अनुसार विगत एक महिनादेखि बिक्री विरतरण बन्द रहेको उनले बताए । ‘हामीले गुणस्तरको पुनः जाँच गर्न विभागलाई अनुरोध गरेका छौं’ उनले भने–‘गुणस्तरले अनुमति दियो भने आगामी सातादेखि बिक्री वितरण थाल्ने छौं ।’
गत असारमा जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमन गर्ने क्रममा सगरमाथा सिमेन्टको नमुना गुणस्तर तथा नाप तौल जाँच पठाएकाे थियाे ।  त्यसमा गुणस्तर तथा नाप तौल विभागले थप चेकजाँच गर्दा गुणस्तरहित भेटिएकाे थियाे ।

पछिल्लो समय सगरमाथा सिमेन्टको विभिन्न ५ स्थानबाट नमूना संकलन गरी फेरि गुणस्तर जाँच भईरहेको महानिर्देशक पुडासैनीले बताए । ‘यसै हप्ता थप परिक्षणको रिपोर्ट आउन सक्छ । सोही आधारमा कम्पनीमाथि आवश्यक कारवाही हुन्छ’ पुडासैनीले भने ।

उक्त उद्योगलाई कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाए ऐन, २०३२ अन्र्तगत कारवाही हुन सक्ने छ ।

यसअघि २०७३ माघ र २०७२ चैत महिनामा पनि सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहिन भेटिएको थियो । त्यतिबेला ओपीसी सिमेन्टको गुणस्तर पीपीसी सरह भेटिएको थियो ।

पीपीसी सिमेन्ट प्लास्टर गर्न, फ्लोरिङ गर्न, साधारण प्रकारको कंक्रिट सामाग्री निर्माण गर्न प्रयोग हुन्छ । ओपीसी सिमेन्ट पिल्लर निर्माण गर्न, ढलान गर्न, पुल बनाउन, जलविद्युत गृह निर्माण गर्न तथा बलिया कंक्रिट निर्माण गर्न प्रयोग हुन्छ ।

घोराही सिमेन्ट उद्योगले सगरमाथा, विश्वकर्मा, श्रीपशुपति, कपिलवस्तु ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगमा संघाई ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.