मिस कल गर्दा मोवाईल रिचार्ज हुने, के बैंकका सबै काउन्टर खाली हुँदैछन् ?

  २०७५ साउन १० गते ८:५२     विकासन्युज

काठमाडौं । सनराईज बैंकमा मिस कल गरेर मोवाईल चार्ज गर्न सकिन्छ । बैंकमा भएको नगद मौजदात (ब्यालेन्स) सोध्न सकिन्छ । पछिल्लो पाँच वटा कारोबार विवरण (स्टेटमेन्ट) जान्न सकिन्छ । आफ्नो एकाउन्टको बारेमा थप जानकारी लिन पनि सकिन्छ ।

रविन नेपाल, डेपुटी जनरल मेनेजर, सनराइज बैंक

‘यी सबै सेवा हामीले निःशुल्क प्रदान गरेका छौं’ बैंकका नायव महाप्रबन्धक रविन नेपाल भन्छन्–‘हामीले ग्रामिण क्षेत्रका उपभोक्तालाई लक्षित यो सेवा ल्याएका हौ । यो सेवा सामान्य मोवाइल प्रयोगकर्ताले पनि प्रयोग गर्न सक्छन् । स्मार्ट फोन नभए पनि हुन्छ ।’

उनका अनुसार मोबाइलबाट मिसकल गर्दा सिस्टमले नै फोन काटिदिन्छ । चार वटा नम्बर छन् । एउटा नम्बरबाट ब्यालेन्स सोध्न सकिन्छ । अर्काेबाट पछिल्लो पाँच वटा कारोबारको (स्टेटमेन्ट आउँछ । अर्काे नम्बरबाट चाँही मिसकल आउने वित्तिकै फोन काटिएर एक सय रुपैंयाँको रिचार्ज हुन्छ मोबाइलमा । चौथो नम्बरमा कल गर्दा चाँही कल सेन्टरमा जान्छ र बैंकले नै विभिन्न सेवाहरुको बारेमा ग्र्राहकको जिज्ञासा अनुसार थप जानकारी दिन्छ ।

नेपालका अनुसार मिस कल गरेर रिचार्ज गर्ने सुबिधा चौविसै घण्टा प्राप्त गर्न सकिन्छ । यो सेवा हाल दैनिक पाँच सय जना जतिले लिईरहेका छन् । जति पटक मिसकल गर्यो त्यति पटक नै रिचार्ज हुन्छ ।

बिशेषतः ग्रामिण क्षेत्रमा नागरिकहरुलाई रिचार्ज कार्ड लिन पसलसम्म जानु नपरोस भन्ने उदेश्यले मिसकल योजना ल्याएको उनले बताए । यो सेवालाई थप विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ ।

प्रविधि प्रयोग गर्न जाने यसबाट दैनिक जीवनशैली सरल बन्नुको साथै आर्थिक लाभ पनि लिन सकिन्छ । सनराईज बैंकको मिसकल सेवा यस्तै एउटा सेवा हो ।

बैंकको काउन्टर खाली गराँइदै
प्रविधिको प्रयोग बढे पनि बैंकको पराम्परागत कारोबार घटेको छैन । बैंकहरुले डिजिटल पेपेन्ट सिस्टम प्रयोगमा ल्याएका छन् । मोवाईल बैंकिङ, इन्टरनेट बैकिङ, कार्ड पेमेन्ट, वालेट पेमेन्ट, एटीएम भुक्तानी जस्ता धेरै नामका धेरै विधि र शैलिका भुक्तानी विधि प्रयोगमा आएका छन् । बैंकहरुले शाखा पनि व्यापक रुपमा विस्तार गरेका छन् तर हरेक शाखाको काउण्टरमा बैकिङ सेवाग्राहीको भीड घटेको छैन, लामो लाईन बस्नुपर्ने बाध्यता छ ।

खोइ त प्रविधिको प्रयोगको प्रभाव ? किन घटेन काउन्टरमा ग्राहकको भीड ?
सनराईज बैंकका नायव महाप्रबन्धक नेपाल भन्छन्–‘हो, काउन्टरमा आउने मान्छे घटेका छैनन् । तर एटिएमको विस्तार नभएको भए, शाखाको विस्तार नभएको भए काउन्टरमा भीड दोब्बर÷तेब्बर हुने थियो र व्यवस्थापन गर्न कठिन हुने थियो ।’

उनले थपे ‘हामी बैंकको काउन्टर खाली भएको हेर्न चाहान्छौं’ उनले जोड दिँदै फेरि भने ‘काउन्टरमा कोहि मान्छे पनि नआउन भन्ने हो । काउन्टरहरु बन्द गर्न पाईयोस भन्ने छ । प्रविधिले काउण्टरलाई विस्थापित गरोस भन्ने हाम्रो चाहना हो ।’

सनराइज बैंकको उदाहरण दिदै उनले भने ‘अहिले सनराईज बैंकको काउन्टरबाट भन्दा एटिएमबाटै धेरै पेमेन्ट भैरहेको छ । हामी एटीएम मेसिनको प्रयोगलाई बढाउँछौ । एटिएमबाट नगद संकलन हुने सुविधा पनि दिने सोचाई राखेका छौं ।’

बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न पस मेसिनको संख्या बढाईरहेको छ । काठमाडौं, बिराटनगर, धरान, पोखरा, वुटवल जस्ता शहरहरुबाट विस्तार हुँदै अब राजमार्गका होटल र स–साना शहरहरुसम्म पस मेसिनको विस्तार भैरहेको उनी बताउँछन् ।

नयाँ नयाँ प्रविधिको विकास भईरहेको छ । पछिल्लो समय मोबाइलमा आधारित प्रविधिको प्रयोग बढी छ । बैंकिङ क्षेत्रमा वालेट सेवा पनि विस्तार हुँदै गएको छ । अब क्युआर सिस्टम आउँदैछ । त्यसले स्क्यान गरेपछि आफ्नो खाताबाट पैसा पठाउन सकिन्छ । ‘हामी सबैले पेमेन्ट सिस्टमलाई क्यासलेस बनाउने र स साना व्यवसायसम्म विस्तार गर्ने हो । ठूला होटल, डिपार्टमेन्टल स्टोरबाट साना व्यवसायसम्ममा क्यासलेस पेमेन्टको कल्चर विकास गर्नुछ’ उनले भने–तरकारी किन्ने पसलमा पनि क्युआर जडान गर्दैछौं ।’

क्युआर सिष्टम राखेपछि कुनै पसलमा समान खरिद गर्दा एउटा क्यू आर स्क्यानरमा स्क्यान गरेपछि खाताबाट पैसा तिरिदिन्छ । भारतमा व्यापक प्रयोग भैरहेको पेटिएम पनि क्यू आर जस्तै प्रणाली हो । ‘क्युआर सिस्टमका लागि एउटा सम्झौता भैसकेको छ । हामीले अन्य बैंकको खाता भएकाहरुले पनि चलाउन मिल्ने इन्टर अपरेटिभ सिस्टम जडान गराउन खोजेका हौं । भिसा, मास्टर कार्ड, युनियन पेले जस्तै एउटा क्युआर लिएपछि सबैको सेवा लिन सकिने व्यवस्था गर्न लागेका हौं । आगामी ६/७ महिनामा क्युआर मार्फत भुक्तान गर्न सकिन्छ । त्यसपछि तरकारी किन्दा पनि नगद तिर्नु पर्दैन’ उनले व्याख्या गरे ।

क्युआर सिस्टम महंगो पनि नहुने उनले बताए । ‘सानो आकारमा कारोबार गर्नेहरुले पनि क्युआर कोड लिन सक्छन् । हामीले इन्टर अपरेटिभ भएको क्युआर सिस्टम चाहेका छौं, त्यो नेपाली पनि हुन सक्छ वा विदेशी पनि हुन सक्छ । हामीले नेपाली कम्पनीलाई प्राथमिकतामा राखेका छौं । यसको सुरक्षा प्रणालीलाई पनि मजबुत बनाउनका लागि कुनै कसर बाँकी राख्ने छैनौं ।’

एक्लो वृहस्तपतिको अर्थ छैन
बजारमा २८ वटा बाणिज्य बैंक छन् । विकास बैंक र फाइनान्स कम्पनी पनि छन । एक्लैले नयाँ सुबिधा ल्याएर हुन्न । त्यसमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता पनि अनिवार्य हुन्छ । धेरै वटा बैंकहरुले यस्तो सेवा आरम्भ गरे भने उपभोक्ताका लागि र नियामकका लागि पनि चासोको बिषय बन्छ । यसले सफलता प्राप्त गर्छ ।

‘प्रविधिको पनि इकोसिस्टम हुन्छ । नियामक निकाय, बैंक, उपभोक्ता, इन्टरनेट सर्भिस प्रोभाइडर, विद्युत दिने निकायका बीचमा उपयुक्त समन्वय भयो भने मात्रै प्रविधिमा फड्को मार्न सकिन्छ’ नेपालले भने–‘सनराइज बैंकले मात्रै नयाँ प्रविधि दिईरहन सक्दैन्, यसलाई सघाउन अन्य बैंक तथा वित्तीय संस्था र उपभोक्ता देखि नियामकसम्मको सहयोग र सहभागिता अनिवार्य छ ।’

सुरक्षा व्यवस्था
बैंकले विद्युतिय कारोबारलाई सुरक्षित बनाउनेतर्फ सर्तकता अपनाउँदै आएको छ । नेपाल भन्छन्–‘हामीसँग धेरै सर्भर छन् । हरेक सर्भिसका लागि छुट्टै सर्भर राखिएको छ । हामीले सबै सर्भिसलाई भर्चअलाइज गरिरहेका छौं । पेमेन्ट गेटवेलाई पनि चुस्त बनाउने प्रयास गरिरहेका छौं । हामीले एटिएम कार्डलाई थप सुरक्षित बनाउन चिप प्रविधिमा आधारित कार्डहरु र चिप रिड गर्न सक्ने गरी एटिएम मेशिन तथा पस ९एइक्० मेशिन लाई परिमार्जित गरिसकिएको छ ।

सेवा र शुल्क
बैंकहरुलाई सर्भिस खरिद गर्न पनि ठूलो मूल्य तिर्नुपर्छ । सर्भिस ल्याएपछि उपभोक्ताले सञ्चालन गर्ने हैसियत बनाएका छन कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । महंगो सर्भिस ल्याएर राम्रोसँग उपभोक्ता बढाउन सकिएन भने समस्या हुन्छ । नेपाल भन्छन्– हामीले सेवा अनुसारको शुल्क लिने हो । उच्चस्तरको सर्भिस लिनका लागि पेमेन्ट पनि बढी नै हुन्छ । सबै सेवा निःशुल्क खोज्नु हुन्न ।’

बैकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग र अभौतिक कारोबार क्रमशः बढ्दै गएको छ । त्यसैले प्रविधि मैत्री ग्राहकको दैनिकी स्मार्ट हुन्छ भने नगदमा नै लेनदेन गर्नेको जीवनशैली परम्परागत शैलीको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.