चिनियाँ नाका पुग्ने तीन सडक एसियन स्ट्याण्डर्डमा, १०६ अर्ब लागत

  २०७५ असार १६ गते १२:३९     नारायण पौडेल

काठमाडौं । चिनियाँ नाका पुगिने ३ वटा सडक एसियाली मापदण्डको हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा उत्तरी नाका पुग्ने ३ वटा सडकलाई बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)मा समावेश गर्ने सहमति भएको थियो । बिआरआईमा राख्ने सहमतिसँगै ३ वटा सडकहरु एसियाली मापदण्डमा स्तरोन्नति हुने पक्का भएको हो ।
नेपाल र चीनबिच कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलाई बिआरआईमा समावेश गर्ने सहमति भएको थियो ।
कुल यी सडकहरुको स्तरोन्नतिका लागि १ खर्ब ६ अर्ब रुपैंया लाग्ने प्रक्षेपण गरिएको छ । ३ वटा सडकको कुल लम्बाई भने १२३२ किलोमिटरको हुनेछ । सो सडकमध्ये अब निर्माण तथा स्तरोन्नतिका लागि भने कोशी करिडोरमा २०० किलोमिटर, कर्णाली करिडोरको २८२ किलोमिटर र कालीगण्डकी करिडोेरको ३५५ किलोमिटरमध्ये हाल सवारी सधान भने गुडिरहेको छ । त्यसमा २१ अर्ब खर्चेर सुरुङ निर्माण गर्ने योजना बनेको छ ।

एसियाली मापदण्डका सडकहरुलाई बिभिन्न ग्रेडमा विभाजन गरिन्छ । नेपालमा पुर्व पश्चिम राजमार्ग र बिरगञ्जबाट मुग्लिन हुँदै काठमाडौंबाट तातोपानी पुगिने सडकलाई एसियाली सडकमा समावेश गरिएको छ । बिआरआईमा समावेश गरेर एसियाली मापदण्डमा स्तरोन्नति हुने ३ सडकहरुको तल्लो खण्ड भने क मापदण्डमा निर्माण हुनेछ । जसमा मेडियनले आउने र जाने सवारी साधनलाई छुट्याउनेछ ।

पहाडी तथा हिमाली खण्डमा भने ग मापदण्डको सडक निर्माण हुनेछ । जुन सामान्यतया डबल लेनको हुनेछ । ‘भारतबाट आएका सवारी साधन चीन जान सक्ने र चीनबाट आएका मालवाहक सवारी साधन भारतसम्म सहज रुपमा जान सक्ने गरि एसियाली मापदण्डमा यी सडकहरुको निर्माण हुनेछ, बिआरआईको मुल ध्येय पनि त्यहि नै हो’, उत्तर दक्षिण सडक आयोजनाका प्रमुख बलराम मिश्रले भने । उनले तल्लो क्षेत्रमा मेडियन राखेर सडक निर्माण गरिने र माथिल्लो खण्डमा डबल लेनको सडक निर्माण गरिने पनि जानकारी दिए । यी सडकहरुमा सवारी साधनहरुको स्पीड लिमिट पनि निर्धारण गरिएको हुनेछ ।

कोशी करिडोरका रुपमा रानी–धनकुटा–किमाथाङका सडकको लम्बाई ३४५ किलोमिटर छ । यो सडकलाई पुर्णतः २ लेनमा कालोपत्रे गर्न २० अर्ब लाग्नेछ । यो सडकमा अब २०० किलोमिटर मात्रै बनाउन बाँकी छ । कर्णाली करिडोरका रुपमा रहेको ५२७ किलोमिटर लामो जमुनाह–सुर्खेत–हिल्सा सडकको लागत २३ अर्ब रूपैयाँ हुनेछ । यसमा अब २८२ किलोमिटर मात्रै निर्माण गर्न बाँकी छ । कालीगण्डकी करिडोरका रुपमा रहेको बेलहिया–बेनी–जोमसोम–कोरला सडकको लम्बाई ३५५ किलोमिटर छ भने यसको निर्माण लागत ६३ अर्ब रूपैयाँ अनुमान गरिएको छ । यो सडकमा २१ अर्ब रूपैयाँको सुरुङ तथा पुलहरु निर्माण गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.