नेपाल बैंककाे ८ अर्ब नोक्सान सकियो, आगामी वर्षदेखि लगानीकर्तालाई लाभांश दिने अवस्थामा

  २०७५ असार १४ गते १६:३१     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपाल बैंक लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था पुगेको छ । ८ अर्ब रुपैयाँ संचित नोक्सान भुक्तान गरिसकेकाले आगामी वर्षदेखि लाभांश बाँड्न सक्ने अवस्थामा बैंक पुगेको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंक नाफा–नोक्सान बराबरीको अवस्था (ब्रेकइभन) मा आएको छ ।

संचित कोषको आकार र नाफा बढेकाले लगानीकर्तालाई लाभांश बाँड्ने अवस्थामा बैंक पुगेको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) दुर्गाराज रेग्मी बताउँछन् । “नियामक निकाय नेपाल राष्ट्र बैंकबाट लाभांश बाँड्न अनुमति पाउन सक्ने अवस्थामा बैंक पुगेको छ” उनले भने “सञ्चालक समिति र साधारणसभाले दिने वा नदिने त्यसैमा निर्भर हुन्छ । सञ्चालक समितिले लाभांश नबाँडौ भन्न पनि सक्छ ।” संचित नोक्सानका कारण बैंकका लगानीकर्ताले लाभांश पाएका छैनन् ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ पुगेको र संचित कोष पनि ५ अर्ब ९७ करोड रुपैयाँ पुगेकाले बैंक आगामी वर्षदेखि लगानीकर्तालाई लाभांश बाँड्ने अवस्थामा पुगेको उनले दावी गरे । “अब पहिलाको अवस्थामा बैंक छैन । वित्तीय अवस्था मजवुत छ” उनले भने । नाफा र संचित कोषमा भएको वचत बैंकले जुन बेला पनि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्ने उनको भनाई छ ।

२०५४ देखि २०५७ सालसम्म बैंकको वित्तीय स्वास्थ्य बिग्रेको थियो । २०५९ सालदेखि बैंकले नोक्सानलाई पूर्ति गरेर ब्रेक इभनमा पुगेको हो । बैंकलाई ब्रेक इभनमा ल्याउन झण्डै १७ वर्ष लागेको छ । नेपाल बैंकको खराब कर्जा बढेर वित्तीय अवस्था खराब भएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय सुधार कार्यक्रम ल्याइएको थियो । सोही कार्यक्रमले बैंकलाई सुधार गरी लाभांश वितरण गर्ने अवस्थामा पुर्याएको हो ।

बैंकले शुक्रबारदेखि प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

१ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

१४ प्रतिशत मात्रै नाफा बढाउने लक्ष्य

बैंकले आउँदो ३ वर्षमा नाफा १४ प्रतिशत मात्र बढाउने लक्ष्य लिएको छ । बैंकले एफपीओ ल्याउनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा नाफा वृद्धि न्युन हुने देखाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा सामान्य बढाएर ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो ।

३ वर्षमा बैंकको नाफा ४३ करोड ५५ लाख रुपैयाँ बढ्ने बैंकको प्रक्षेपण रहेको छ । जगेडा कोषको आकार पनि बढेर १६ अर्ब ७८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आवमा जगेडा कोष ९ अर्ब ७६ करोड र आगामी वर्ष बढेर १३ अर्ब २३ करोड रुपैयाँ पुग्ने छ ।

एफपीओको ४ अर्ब ९५ करोड यसरी लगानी गर्दैछ बैंक

बैंकले एफपीओ बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ ।

यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.