औद्योगिक क्षमता बढेर ५८ प्रतिशत पुग्यो, उच्च आर्थिक वृद्धिको संकेत : राष्ट्र बैंक

  २०७५ जेठ २७ गते १३:३९     विकासन्युज

काठमाडौं । लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो । एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार भएको छ ।

निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत योगदान दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकको भनाई छ ।

आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएपनि जीडीपीमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ । सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५/ ७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण गत वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फीतिको परिदृश्य प्रभाव पार्ने देखिन्छ ।

वाह्य क्षेत्रतर्पm, आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । विप्रेषण आप्रवाहमा सुधार आई गत वर्षको ५.२ प्रतिशत वृद्धिको तुलनामा ७ प्रतिशत पुगेको छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति १० खर्ब ७२ अर्ब ८५ करोड रुपैयाँ छ । यसले ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वार्षिक विन्दुगत आधारमा १० महिनासम्ममा कर्जा प्रवाहको १९.६ प्रतिशत र निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशत रहेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुश लगाउनु पर्ने राष्ट्र बैंकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.