बामपन्थी सरकारले पूँजी बजार मास्छ ? चीन, लाओस र भियतनाम किन देखाए अर्थमन्त्रीले ?

  २०७५ जेठ २१ गते १७:२५     विकासन्युज

काठमाडौं । आइतबार प्रतिनिधी सभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए–‘कम्युनिष्ट सरकार भएका देशमा लगानी भित्रिदैनन् भन्ने हो भने चीन, भियतनाम र लाओस हेरे पुग्छ । लगानी भित्र्याउन लगानी सुरक्षा र सुशासन चाहिएको हो जुन हामी उपलब्ध गराउँछौं ।’

तर त्यसकै भोली पल्ट उनै खतिवडाले सम्हालेको अर्थमन्त्रालयको प्रवेशद्धारबाट आधा दर्जन व्यक्ति निरास मुद्रामा बाहिरिँदै थिएँ ।
उनीहरु मध्येकै एकजना भन्दै थिए–‘बामपन्थी सरकारले पूँजी बजारलाई डुबाउने भयो, अहिले त म केहि बोल्दिन तर यहि अवस्था जारी रहे केहिदिनपछि मुख खोल्छु ।’

बामपन्थी सरकारले पूँजी बजार डुबाउन लाग्यो भन्दै निरासापूर्ण अभिव्यक्ति दिने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेको संकेत गरेका थिए । उनकै आसयलाई बुझेर यहाँ उनको नाम उल्लेख नगरिनु उपयुक्त हुन्छ । अर्थमन्त्रालयको मुल प्रवेशद्धारबाट निरास मुद्रामा बाहिरनेहरु थिए सेयर बजारका लगानी कर्ताहरुले गठन गरेका बिभिन्न संघ संगठनका नेतृत्वकर्ता ।

सके अर्थमन्त्री, नसके अर्थ र राजश्व सचिवलाई भेट्न मन्त्रालय पुगेका उनीहरुले वित्तिय व्यवस्थापन विभागका प्रमुख उत्तर कुमार खत्री र राजश्व तर्फका केहि कर्मचारीलाई मात्रै भेट्न पाए । मन्त्रालयको सुवर्ण हलमा राखेर केहि समय सेयर बजारको विद्यमान अवस्था र लाभकरमा गरिएको नयाँ व्यवस्थाका बारेमा ब्रिफिङ गरे ।

सहसचिव खत्री र राजश्व तर्फका केहि कर्मचारीहरुले ’तपाईहरुका कुरामा हामी सकारात्मक नै छौं, अब सचिवज्यूहरु र मन्त्रीज्यूसम्म पुर्याउँछौं’ मात्रै भने । उनीहरुले बोनस र हकप्रद सेयरमा लाभकर गणना गर्ने नयाँ बिधि असान्दर्भिक र पूँजी बजार बिरोधी भएको व्यवहोरा लेखिएको ज्ञापन पत्र पनि बुझाए ।

सेयर बजारका लगानीकर्ताको हित संरक्षण गर्न भन्दै गठन भएका तीन वटा सस्थाका प्रतिनिधी अर्थमन्त्रालय पुगेका थिए । उनीहरुको सामुहिक निचोड थियो– नयाँ लाभकरले पूँजी बजारको विकास गर्दैन भन्नेबारे अर्थमन्त्रालय कन्भिन्स छ तर राजश्व कन्भिन्स भएन, उनीहरुले कुरा बुझेका छन तर नियतै खराब देखियो ।’

मन्त्रालयबाट निरास बन्दै निस्केका उनीहरु तुरुन्तै नेपाल धितोपत्र बोर्डको कार्यालय पुगेका थिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र निर्देशक निरज गिरीलाई पनि उनीहरुले आफ्ना गुनासो राखे । अध्यक्ष कार्की र गिरीले करको बिषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने तर अर्थमन्त्रालयलाई निर्णय पुनरावलोकनका लागि आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तर आइतबार देखि नै बोनस र हकप्रद सेयरको कारोबारमा तोकिएको नयाँ लाभकरको दर अनुसार कर संकलन भने सुरु भैसकेको थियो । सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले कर कार्यालयको पत्र अनुसार आइतबारबाटै कर लागु भैसकेको बताएका छन् । नयाँ करको दर कार्यान्वयन भैसकेकाले पनि निर्णयबाट फर्कन भने त्यहि सहज नरहेको अर्थमन्त्रालयले बताएको छ ।

अर्थमन्त्री डा. खतिवडालाई धर जग्गा र पूँजी बजारप्रति अनुदार व्यक्तिको ट्या लाग्दै आएको छ । तर उनले पटक पटक सेयर बजारलाई पूँजी संकलनको अस्त्रका रुपमा स्विकार गर्दै आएका छन् । यद्यपी बजेट मार्फत गरिएको नयाँ व्यवस्थाले भने सेयर बजार प्रति अर्थमन्त्रीको सार्वजनिक धारणामाथी फेरी पनि आशंका जन्माएको छ ।

चीन, लाओस र भियतनाम देखाउन अर्थमन्त्रीले आफ्नै देशको सेयर बजारलाई भने किन निरुत्साहित पारिरहेका छन् ? उनले एक अर्ब भन्दा बढि लगानी भएका सबै कम्पनीले सेयर बजारमा सूचिकृत हुनुपर्ने बताएर सेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिरहेका छन् । तर त्यहि सेयर बजारमा नयाँ कर थपेर लगानीकर्तालाई निरुत्साहित पार्ने प्रयास किन भैरहेको छ ? अर्थमन्त्रीज्यू, चीन, लाओस र भियतनाम देखाएर स्वदेशी लगानीकर्तालाई चाँही किन बिच्काएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.