४०० बढी सगरमाथा शिखरमा , ३६ करोड राजश्व संकलन

  २०७५ जेठ १२ गते १६:१४     विकासन्युज

काठमाडौ । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।

यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट १ करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी कञ्चनजङ्घाबाट ८२ लाख २६ हजार, धौलागिरीबाट ६३ लाख ६३ हजार, आमाडब्लामबाट २० लाख ४७ हजार र मनास्लुबाट १४ लाख ९३ हजार रुपैयाँ रकम संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक/फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.