करको दर र दायरा बढाउन नयाँ राजस्व ऐन ल्याउँदै काठमाडौं महानगर, न्युरोड र दरबारमार्गको भाडादर तोकिने

  २०७५ जेठ ११ गते १२:४५     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दर र दायरा दुबै बढाउने तयारी गरेको छ । महानगरले नयाँ राजश्व सम्बन्धी नीति तयार गरी करको दर र दायरा बढाउन लागेको हो । कर असुलीलाई कसिलो बनाउन महानगरले उपमेयर हरिप्रभा खड्कीको संयोजकत्वमा राजस्व परामर्श समिती गरेको छ ।

समितीले कुन कुन शिर्षकमा कर उठाउन सक्ने र दर कति बढाउने भन्ने विषयमा सुझाव दिने छ । सोही सुझावका आधारमा करको दर र दायरा दुबै बढन सक्ने महानगर राजस्वका निर्देशक राज्यप्रकाश प्रधानागंले बताए ।

महानगरले अहिले पुरानै कर असुली प्रक्रियाबाट अघि बढिरहेको छ । घरबहाल कर घरधनिले तोकेकै भाडाको आधारमा असुली भैरहेको हो । अब नयाँ आर्थिक वर्षमा यो परिवर्तन भई यसमा न्युनतम घरभाडाको मापदण्ड तोकिने प्रधानागंले जानकारी दिए ।

उनले भने “पुरानो कानूनबाट महानगरले लक्ष्य अनुरुप कर असुली गर्न सकिएको छैन । नयाँ आर्थिक वर्षमा न्युनतम बहाल कर तोकिने गरी राजस्व ऐन ल्याउछौं ।

महानगरमा १० लाख भन्दा कम मुल्यांकन रहेका घरहरुले कर तिर्नु नपर्ने १० वर्ष अघिको कानून अझै प्रचलनमा रहेका छ । अघिले घरको मुल्य बढेपनि घरधनीले कर नतिरेको प्रधानागंले बताए ।

अहिले न्युरोड, दरबारमार्गमा घर भाडामा लगाउनेहरुले पुरानै मुल्यांकनको १२ प्रतिशत कर तिरिरहेका छन् । तर नयाँ राजस्व ऐनले न्युनतम भाडादर तोक्ने प्रधानागंले जानकारी दिए ।

चालु आर्थिक वर्षमा महानगरले ४ अर्ब ३१ करोड अनुदान र राजस्वबाट असुली गरेको छ । महानगरले घर जग्गा करबाट ४२ करोड, घर बहाल करबाट साढे २२ करोड, व्यवसाय करबाट साढे ५ करोड असुली गरेको छ । सरकारको अनुदानबाट भने १ अर्ब २७ करोड रुपैयाँ महानगरले प्राप्त गरेको छ ।

यस्तै जिल्ला समन्वय समितीले घर जग्गा मालपोत लगायतको १२ करोड रुपैयाँ महानगरले प्राप्त गरिसकेको छ । चालु आर्थिक वर्षमा करिब घरबहाल करदाता २५ हजार थपिएको महानगरले जनाएको छ । महानगरको यो वर्षको राजस्व अनुमानमा ४५ प्रतिशतले गिरावट आउने भएको छ । चालु आर्थिक वर्षमा महानगरले १० अर्ब २७ करोड रुपैयाँ अनुदान र राजस्वबाट उठाउने अनुमान गरेको थियो ।

महानगरले घरजग्गा करबाट १ अर्ब, घरबहालबाट २ अर्ब र व्यवसाय करबाट २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । आर्थिक वर्षको अन्त्य हनै लाग्दा महानगरको लक्ष्य ४५ प्रतिशत नपुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.