युनिलिभर लगायत अधिकाँश सुचिकृत कम्पनी मार्जिन कारोबारका लागि अयोग्य, ४० कम्पनीको मात्र हुने

  २०७५ जेठ ११ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ४० कम्पनीको मात्र सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा पाउने देखिएको छ । बैंक तथा वित्त, बीमा, जलविद्युत, होटल र उत्पादनमुलक गरी १९६ कम्पनी नेप्सेमा सुचिकृत छन् ।

मार्जिन ट्रेडिङका लागि नेप्सेले प्रारम्भीक अध्ययन गर्दा ४० कम्पनीको मात्र सेयर कारोबार हुने देखिएको हो । प्रावधानअनुसार सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको पनि सेयर किन्न पनि मार्जिन कर्जा नपाउने भएको छ । युनिलिभरको सेयर सदस्यको संख्या १० हजार नपुग्ने भएपछि उसको सेयर मार्जिक कारोबार गर्न नमिल्ने भएको हो ।

धितोपत्र बोर्डले मार्जिन कर्जाका लागि न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसकेको कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो ।

सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र जनता बैंकलगायत एक दर्जन बढी बैंकको सेयर धितो राखेर ब्रोकरमार्फत मार्जिन कर्जा नपाइने देखिएको छ । केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् ।

ब्रोकर कम्पनी आफुले लगानी गर्ने नभई जमानी बसेर बैंकमार्फत सेयर कर्जा दिने व्यवस्था हुनेछ । यसमा नाफा र घाटा दुबै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ । नेप्सेले कर्जा लगानीको विषय भएकाले नीति कार्यान्वयनमा ल्याउन अघि सहमतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.