नेपाल बैंक एफपीअाे निष्कासनका लागि बोर्डमा जाने तयारीमा

  २०७५ जेठ १० गते १४:३२     विकासन्युज

काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा जाने तयारी गरेको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ मूल्य र १०० प्रतिशत प्रत्याभूतिकर्ता (अण्डरराइटिङ) गराएकाले अब स्वीकृतिका लागि बोर्डमा जान लागेको हो ।

रेटिङको काम सकिनसाथ एफपीओ निष्कासनका लागि बोर्डमा जाने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बताए । बोर्डबाट स्वीकृति पाउन साथ एफपीओ निष्कासनको काम थाल्ने उनले जानकारी दिए ।

१० वटा मर्चेन्ट बैंकरले १०० प्रतिशत एफपीओको अन्डरराइटिङ गर्ने प्रतिवद्धता जनाइसकेका छन् । अण्डरराइटिङको दर लगभग तय भएकाले सर्वसाधारणलाई पनि यही दरमा एफपीओ आउने छ ।

बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरिएको थियो । तर मर्चेन्ट बैकरले नमानेपछि घटाइएको हो ।

बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ ।

बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.