डलर ऋण लिन वाणिज्य बैंकले देखाएनन् चासो, एनआईसी एसिया र एनएमबीले मात्र दिए निवेदन

  २०७५ जेठ ३ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिन खुला गरेपछि दुई वाणिज्य बैंकले मात्र प्रक्रिया अघि बढाएका छन् । केन्द्रीय बैंकले गत चैत २० गते वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत मात्र वित्तीय संस्थाबाट डलरमा ऋण लिनलाई खुला गरेको थियो ।

एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र डलरमा ऋण लिन राष्ट्र बैंकमा निवेदन दिएका छन् । एनएमबीले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग डेढ अर्ब रुपैयाँ डलरमा ऋण ल्याउने सम्झौता गरेको छ ।

अहिले २ वटा बैंकले मात्र निवेदन दिएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल बताए । उनका अनुसार हालसम्म एनएमबी र एनआईसी एसियाले मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन निवेदन दिएको उनले जानकारी दिए । “बजारमा अन्य बैंकले लिने भनेको सुनिएको छ । अहिले दुईटाको मात्र निवेदन आएको छ ।” पौडेलले भने ।

गत वर्षदेखि सुरु भएको लगानीयोग्य पुँजीको संकट समधान गर्न राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । खुला गरेपछि हिमालयन बैंक र सनराइज बैंकले पनि डलरमा विदेशबाट ऋण लिने चर्चा चलेको छ । यस्तै मेगा बैंकले पनि परिवत्र्य विदेशी मुद्रामा ऋण लिन आईएफसीसंग छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अुनपमा खुजेलीले बताएकी छिन् ।

ऋण लगानी गर्न पर्याप्त पुँजी नभएपछि बैंकको अनुरोधमा केन्द्रीय बैंकले विदेशी मुद्रामा ऋण लिन बाटो खुला गरेको हो । सरकारको खर्च बढेकाले बजारमा तरलता बढ्दै गएपछि बैंकले त्यत्ति चासो नदेखाएको २ वटा बैंकले मात्र निवेदन दिएकाले स्पष्ट भएको छ ।

वाणिज्य बैंकले विदेशी बैंकबाट बढीमा ५ अर्ब ५० करोड रुपैयाँसम्म ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले सो रकम बराबर रकम मात्र पाउने भएका हुन् ।

८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी (कोर क्यापिटल) ३ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ छ । यसको २५ प्रतिशत अर्थात ७८ अर्ब रुपैयाँ हारहारीमा मात्र बैंकले विदेशी मुद्रामा ऋण लिन पाउने छन् ।

कृषि विकासको २२ अर्ब ३७ करोड ४० लाख रुपैयाँ छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको १९ अर्ब ९४ करोड ९० लाख, नविल बैंकको १५ अर्ब १६ करोड ९० लाख रुपैयाँ प्राथमिक पँजी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै एभरेष्ट बैंकको १३ अर्ब ६ करोड ५० लाख, नेपाल बैंकको १२ अर्ब ९८ करोड ४० लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकको १२ अर्ब १३ करोड ३० लाख, हिमालयन बैंकको १२ अर्ब ४५ करोड ५० लाख, राष्ट्रिय वाणिज्य बैंकको ११ अर्ब ३९ करोड, नेपाल एसबीआई बैंकको ११ अर्ब ४१ करोड, ग्लोबल आईएमई बैंकको ११ अर्ब ३४ करोड ९० लाख, एनएमबी बैंकको ११ अर्ब ३४ करोड, नेपाल बंगलादेश बैंकको १० अर्ब ६५ करोड २० लाख र बैंक अफ काठमाण्डुको १० अर्ब ८२ करोड ३०लाख रुपैयाँ प्राथमिक पुँजी छ ।

एनआईसी एसिया बैंकको १० अर्ब २५ करोड, माछापुच्छ्रे बैंकको ९ अर्ब ३६ करोड, कुमारी बैंकको ८अर्ब ३५ करोड, लक्ष्मी बैंकको ९ अर्ब ६५ करोड, सिद्धार्थ बैंकको १० अर्ब ५५ करोड, सिटिजन्स बैंकको ९ अर्ब ६९ करोड ४० लाख, प्राइम कमर्शियल बैंकको १० अर्ब, सनराइज बैंकको ९ अर्ब ८६ करोड, प्रभु बैंकको ८ अर्ब ६१ करोड, जनता बैंकको ८ अर्ब ६४ करोड, मेगा बैंकको ८ अर्ब ९६ करोड, सेन्चुरी कमर्शियल बैंकको ९ अर्ब ३४ करोड र सानिमा बैंकको ९ अर्ब १६ करोड रुपैयाँ छ ।

प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ भन्दा कम भएपछि सिभिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले विदेशबाट ऋण लिन नपाउने भएका हुन् । सिभिलको प्राथमिक पुँजी ६ अर्ब ७९ करोड १० लाख र एनसीसीको ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । सिभिलको चुक्तापुँजी ६ अर्ब भन्दा कम छ । यस्तै एनसीसीको ४ अर्ब ६७ करोड रुपैयाँ मात्र छ ।
चुक्तापुँजी, संचितकोष (रिजर्भ) प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.