बार्षिक ४० प्रतिशत नाफा पुर्याउने कुमारी बैंकको योजना, ३ वर्षपछि १४७ करोड कमाउने

  २०७५ वैशाख १४ गते १७:१२     विकासन्युज

काठमाडौं । आउदो ३ वर्षमा कुमारी बैंकले नाफा १२२ प्रतिशत बढाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकले खुदनाफा बढाएर १ अर्ब ४७ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको ३ वर्षको वित्तीय प्रक्षेपणमा वार्षिक औसत ४० प्रतिशतका दरले नाफा बढाउने उल्लेख गरेको छ । गत आर्थिक ०७३/०७४ मा बैंकले ६६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड र आगामी वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।

३ वर्षमा बैंकले प्रतिसेयर आम्दानी बढाएर १८ रुपैयाँ ३९ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ थियो । यो वर्ष बढाएर १३ र आगामी वर्ष १६ रुपैयाँ पुर्याउने भएको छ । बैंकले ब्याज आम्दानी बढाएर ३ वर्षमा ३ अर्ब २३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा २ अर्ब ३४ करोड र आगामी वर्ष २ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गर्ने लक्ष्य लिएको छ । जगेडा कोषको आकार २ अर्ब ११ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३ करोड रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ ।

बैंकले निक्षेप परिचालन बढाएर ९५ अर्ब ९८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आर्थिक वर्षमा निक्षेप बढेर ६८ अर्ब ३५ करोड र आगामी वर्ष ८१ अर्ब ३४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकले चुक्तापूँजी बढाउन १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । बैंकले बैंशाख २८ गतेदेखि हकप्रद निष्कासन खुला गर्नेछ । हकप्रद निष्कासन बन्द जेठ ३१ गतेसम्मलाई तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.