नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच एमओयुमा हस्ताक्षर

  २०७४ चैत ६ गते १७:१५     विकासन्युज

काठमाडौं । नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीचमा मंगलबार एक समझदारीपत्र(एमओयु)मा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.रीता गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै दुई संस्थाले सम्झौता गरेका हुन् । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्धारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने छ ।

यस कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुईतले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.