चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्रीले गरे उद्घाटन, ३० मेगावाट बिजुली थपियो

  २०७४ माघ २७ गते १३:१५     विकासन्युज

काठमाडौं । सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । दार्चुला जिल्लामा रहेकाले ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

 

 

दुई युनिटको सफल परीक्षण भएपछि शनिबारदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको छ । यस्तै दोस्रो युनिटबाट एकसाता अघि मात्र १५ मेगावाट विद्युत् उत्पादन शुरु गरेको हो । अर्धजलासययुक्त आयोजना चमेलियाबाट साँझ दैनिक ६ घण्टा पुर्ण रुपमा बिजुली उत्पादन गर्छ ।

सन् २००८ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ ।

आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । ८ अर्ब ३४ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको चमेलिया सम्पन्न गर्दा १५ अर्ब रूपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाको प्रति मेगावाट लागत ५० करोड रुपैयाँ पुगेको छ । निर्माण भएका मध्ये चमेलिया सबैभन्दा महंगो आयोजना हो ।

विद्युतगृह तर्फको जग्गा खरिद, सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलका लागि ७ अर्ब ८४ करोडर परामर्श सेवा तर्फ करिव ६० करोड रुपैयाँ गरी ८ अर्ब ४४ करोड खर्च भएको आयोजनाले जनाएको छ ।

निर्माणको क्रममा देखिएका कठिन भौगर्भिक समस्याहरुलाई प्राविधिक जटिलताको रुपमा लिई तत्काल समाधान गरिनुको सट्टा शंकाको दृष्टिकोणले मात्र हेर्दा सिर्जित समस्याले करिव १८ महिना निर्माणाधिन आयोजना पूर्णरुपले बन्द हुन पुग्यो । जसले गर्दा आयोजनाको लागत र समयमा केहि वृद्धि हुन गएको हो ।

आयोजना १३१ किलोमिटर लम्बाईको बलाँच–अत्तरिया प्रसारणलाइन निर्माणमा २ अर्ब ५४ करोड, १३२/३३ केभी तथा ३३/११ केभी. सवस्टेशन निर्माण र ३३/११ केभी प्रसारणलाईन निर्माणमा १९ करोड ४८ लाख, सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब रुपैयाँ गरी करिव ६ अर्ब १८ करोड ४८ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ ।

आयोजनाले तयार पारेका प्रसारणलाईन लगायत भौतिक संरचनाको उपयोग गरी अपि हाइड्रोपावर कम्पनी लिमिटेडको ८.५ मेगावाटको आयोजना संचालनमा आइसकेको छ । यस्तै माथिल्लो चमेलिया ८५ मेगावाट, मध्यचमेलिया १६ मेगावाट र कलिंगागाड ६५ मेगावाट, छत्तिगाड २५ मेगावाट आयोजनाको निर्माण शुरु हुने क्रममा छन् ।

यो वर्ष चमेलियालगात निजी क्षेत्रबाट गरी १३८ मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । यो वर्षदेखि बिजुलीको जडित क्षमता १ हजार मेगावाट नाघने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.