१० कित्ता मात्र पाइने लगानीकर्तामा मनोवैज्ञानिक प्रभावले बीपीसीको एफपीओका लागि १ अर्ब १८ करोड मात्र आवेदन

  २०७४ माघ २३ गते १६:०३     विकासन्युज

काठमाडौं । १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा आधा भन्दा केही बढी मात्र आवेदन परेको छ ।

सोमबारसम्म बीपीसीको १ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको ८० हजार १३९ वटा एफपीओ खरिदका लागि आवेदन परेको छ । आइतबारको तुलनमा सोमबार बीपीसीको एफपीओका लागि ३ करोड रुपैयाँ मात्र थप आवेदन परेको देखिएको छ ।

१० कित्ता मात्र एफपीओ पाउने मनोवैज्ञानिक असर वीपीसीको एफपीओमा परेको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरे बताउछन् ।

“८३ हजार बढी आवेदन पर्दा १ अर्ब १८ करोड रुपैयाँ मात्र परेको छ” उनले भने “ धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ताको मात्र आवेदन हालेको देखिन्छ ।” १० कित्ता मात्र आवेदन दिनेले थप्न माग गरेको उनले सुनाए ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपीओ आब्हान हुदा ५ गुणा आवेदन परेको थियो । गत साता प्रिमियरको एफपीओ बाँडफाँड गर्दा १० कित्ता मात्र परेको उनले सुनाए । “बीपीसीमा धेरै रकमको आवेदन पर्ने अनुमान सबैले गर्दा यसको असर परेको देखिएको छ” उनले भने “यस विषयमा सोच्नु पर्ने अवस्था आएको छ ।”

यता नियामक धितोपत्र बोर्ड पनि थोरै पर्ने भएपछि लगानीकर्ताले कम रकमको मात्र आवेदन हालेको देखिएको बताएका छन् । विकास न्युजसंग कुरा गर्दै बोर्डका निर्देशक निरन्जय घिमिरेले १० कित्ता मात्र पाइने संभावनाका आधारमा सबैले कम आवेदन दिएको अनुमान गरिएको बताए ।
यता बीपीसीका वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठ पनि ठुलो परिमाणमा आवेदन परेपनि सबैले कम रकमको एफपीओ भर्दा निर्धारित समयमा बिक्री नभएको बताउछन् । ८० हजार बढीको आवेदन पर्दा रकमका आधारमा आधा भन्दा केही बढी देखिएको उनको भनाई छ ।

पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबार नै सकिएको छ । हालसम्म २३ लाख ७० हजार ५९ कित्ता एफपीओ बिक्री भएको एनएमबी क्यापिटलले जनाएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । अझै ८७ करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ ।

बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५७ रुपैयाँमा झरेको छ ।

आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ ।

पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ ।

बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।

बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ ।

गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.