बढी शुल्क लिने स्कुललाई कार्बाही गर्ने तयारी गर्दै विभाग

  २०७४ माघ १८ गते १८:३७     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा दोषी भेटिएका स्कुलहरुलाई कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

दोषको आधारमा स्कुलहरुलाई प्रहरी प्रशासन, अदालत लगायत सम्बन्धित निकायहरुमार्फत कार्बाही अघि बढाउन लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘अहिले विभागमा अनुगमन गरिएको स्कुलहरुको फाइल अनुसन्धान भइरहेको छ,’ उनले विकासन्युजलाई भने ।

उनको अनुसार हालसम्म विभागले दर्जनबढी निजी स्कुलहरुको अनुगमन गरिसकेको छ । ‘अनुगमनको क्रममा कतिपय स्कुलहरु नियामक निकाय शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयहरु लगायतबाट अनुमोदन नभएको भेटिएको छ,’ उनले भने ‘त्यस्तै अधिकांश स्कुलहरुले मनपरी ढङ्गले शुल्क असुल गरिरहेको पाइएको छ ।’

विभागको अनुसार स्कुलहरुले ल्याब, भौतिक पूर्बधार, सामाजिक उत्तरदायित्व लगायत शिर्षकहरुमा लाखौं रुपैयाँसम्म शुल्क असुल्ने गरेको भेटिएको छ ।

बिहीबार दुई स्कुलको अनुगमन

अज (बिहीबार) पनि विभागको शाखा अधिकृत पवनकुमार प्याकुरेल र निरोज घिमिरेको संयोकत्वमा गएको अनुगमनको टोलिले काठमाडौं स्थित कपन र बाफलमा रहेको स्कुलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कपनको ड्याफोडिल पब्लिक स्कुलले विद्यालय शुल्क निर्धारण तथा शुल्क संरचना, छात्रवृत्ति लगायत सम्बन्धमा विद्यमान शिक्षा ऐन, नियमावली, संस्थागत मापदण्ड वा निर्देशनविन शुल्क असुलेको भेटिएको छ ।

त्यस्तै बाफलको रुपिज इन्टरनेशनल स्कुलले लिने शुल्कका आधिकारीकता नखुलेको अनुगमन टोलिका संयोजक निरोज घिमिरेले बताए । उनका अनुसार ती दुवै स्कुलहरुलाई स्कुलले लिने शुल्क निधारण सम्बन्धमा स्पष्टिकरणसँगै आवश्यक कागजातसहित ७ दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ। निजी स्कुलहरुले मनपरी ढङ्गले भाडा असुल्दै आएको उजुरीको आधारमा विभागले हप्तादिनयता तिब्र गतिमा अनुगमन अगाडी बढाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.