२०७४ पुष १७ गते १६:३२ विकासन्युज
काठमाडौं । सरकारी स्वामित्वको संस्था साल ट्रेडिङ कर्पोरेशनले पछिल्लो समय गैह्र अनुदानको दुई प्रकारको मल बिक्री गर्दै आएको छ । सरकारी अनुदानको रासायनिक मलको भार घटाउनका साथै कृषकलाई सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्रदान गर्ने उद्देश्यले सो मलहरु बिक्री गर्न थालिएको जनाइएको छ । ट्रेडिङले वितगमा सकारी अनुदानका युरिया, डीएपी लगायतका मल बिक्री गर्दै आएकोमा अब, सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेटको बिक्री गर्न थालिसकेको जनाएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेडिङले औपचारिक रुपमा मल कम्पनीको सबै शाखा कार्यालयहरुदेखि बिक्री गर्न सुरु भइसकेको जानकारी दिएको छ ।
कृषि परामर्शदाता भगवान प्रसाद खतिवडाले सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर तथा २१ प्रतिशत क्यालशियम रहने बताए । यसको अति सुक्ष्मतत्वहरु जिङ्क तथा वोरोन मिश्रण गरिएको हुँदा मल सबै बालीनालीहरुका लागि महत्वपूर्ण हुने उनको दावी छ ।
एमोनियम सल्फेटमा २१ प्रतिशत नाईट्रोजन तथा २४ प्रतिशत सल्फर रहेको उनको भनाइ छ । त्यस्तै विरुवालाई ठिक मात्रामा आवश्यक पर्ने नाईट्रोजनतत्व तथा मुख्य सहायक तत्वको रुपमा रहेको सल्फरले गर्दा यसले प्रभावकारी उत्पादन दिन सक्ने उनले जनाए ।
कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीले उक्त गैह्र अनुदानित रासायनिक मलहरु मुलुकभरको आफ्नो २८ ओटै बिक्रीकेन्द्रहरुबाट ग्राहकमाझ पुर्याउने बताए ।
कर्पोरेशनका अनुसार सिंगल सुपर सल्फेट भारत र एमोनियन सल्फेट दक्षिण कोरियाबाट आयात गरिदै आएको छ । ५० किलो बोरामा उपलब्ध हुने ती मलको मूल्य क्रमशः प्रतिकिलो २६ रुपैयाँ ५० पैसा र १८ रुपैयाँ कम्पनीले तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.