डीडीसी विरुद्ध मुद्दा दायर, दुधमा भेटियो हानिकारक ‘कोलिफर्म’

  २०७४ पुष १३ गते १६:३१     पवन तिमिल्सिना

काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले दुग्ध विकास संस्थान (डीडीसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागको अनुगमनका क्रममा सरकारी स्वामित्वको संस्थान डीडीसीले बिक्री गर्ने प्रशोधित दुधमा हानिकारक तत्व कोलिफर्म (जिवाणु) भेटिएपछि मुद्दा दायर गरिएको हो ।

विभागले अनुगमनमा डीडीसीको काठमाडौंको बालाजुस्थित आयोजनामा प्रशोधित दुध दुषित पाएको हो । सरकारी टोलीले अनुगमन गर्दा शंकाका आधारमा डीडीसीको दुधलाई नमुना परिक्षणको लागि प्रयोगशालामा पठाएको थियो ।

दिसा-पिसाबमा पाइने हानिकारक तत्व कोलिफर्म दुधमा पाएपछि गत कात्तिक २१ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंले बताए ।

मापदण्ड अनुसार दुधमा कोलिफर्मको मात्रा शुन्य (०) हुनुपर्छ । तर, डीडीसीले बिक्री गर्ने दुधमा कोलिफर्म देखिएपछि मुद्दा दायर गरेको विभागले जनाएको छ ।

संस्थानलाई खाद्य ऐनका आधारमा मुद्दा दायर गरिएको वस्तीले जानकारी दिए ।

खाद्य ऐन अनुसार दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना वा ७ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने चापागाईंले जानकारी दिए । संस्थाको हकमा संस्थाको मुख्य प्रशासकिय जिम्मेवार हुने उनले बताए ।

गत वर्ष विभागको अनुगमन टोलीले बालाजु आयोजनामा म्याद गुज्रेको लेबल सहितको बोरामा पाउडर दुध भेटेको थियो । त्यतिबेला पाउडर दुध नमूना परिक्षण गर्दा विभागले दुध ‘खान मिल्ने’ रहेको निष्कर्श निकालेको थियो ।

के हो कोलिफर्म ?

कोलिर्फम सरसफाइमा बेवास्ता गर्दा फोहोर खाद्यान्न र पानीको प्रयोगबाट उत्पन्न हुने जीवाणु हो । कोलिर्फमयुक्त खाद्य पदार्थ खाँदा झाडापखालासहित विभिन्न संक्रामक रोग लाग्ने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

उनका अनुसार कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ। ‘यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो’उनले भने, ‘गाईभैंसी दुहुँनेबेलामा यसको संक्रमणको खतरा हुन्छ । यद्यपी प्रशोधन गरेपछि त्यसलाई नियन्त्रण गरिन्छ । यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ।’

कोलिफर्मलाई तीन स्तरमा विभाजन गरिन्छ । यसैका आधारमा विभिन्न स्वास्थ्य जोखिम रहेका छन् ।

१. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ।

२. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ।

३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा ‘इकोलाई’लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ।

नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन। केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन्। कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.