कोरियामा खुल्यो दुई नेपाली रेमिट कम्पनी, औपचारिक उद्घाटन गर्न गभर्नर कोरिया जाँदै

  २०७४ कार्तिक ९ गते १७:३८     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपालीहरुको आम्दानी कानुनी बाटोबाट नेपाल पठाउन सहयोग पुर्याउने उदेश्यसहित दुई वटा रेमिट कम्पनी खुलेका छन् । आइएमइ समूहले प्रवद्र्धन गरेको ग्लोबल मनि एक्सप्रेस (जीएमई) र सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवद्र्धन गरेको जी मनि ट्रान्सफर (जीएमई) कम्पनीले कोरियाबाट रेमिट सेवा दिने भएको छन् ।

स्रोतका अनुसार यहि कात्तिक २० गते नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल दक्षिण कोरिया पुगेर जीएमई रेमिट सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोहि दिन गभर्नर नेपालको उपस्थितिमा जेएमई र नेपालको ग्लोवल आईएमई बैंकबीच सहकार्यमा रेमिट सेवा सञ्चालन गर्ने विषयमा सम्झौता हुने भएको छ ।

सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवद्र्धन गरेको जीएमईले पनि रेमिट सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । जीएमई र सिटी एक्स्प्रेस मनि ट्रान्सफरबीचको सहकार्यकामा कोरियामा कार्यरत नेपालीलाई रेमिट सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको सिटी एक्सप्रेसका ब्राण्ड म्यानेजर सन्देश कटवालले जानकारी दिए ।

यो सेवाले दक्षिण कोरियामा कार्यरत ३५ हजार बढी नेपाली कामदारलाई प्रत्यक्ष लाभ पुग्ने जनाईएको छ । राष्ट्र बैंकका अनुसार कोरियामा रहेका नेपालीले गैरकानूनी रुपमा हुण्डीबाट वार्षिक करिब ४१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । सरकारी कोटामा (इपीएस) बाट कामका लागि कोरिया गएका नेपालीहरुले ९६ प्रतिशत आम्दानी हुण्डीबाट पठाउने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिंग प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा एक अर्ब, २०७१/७२ डेढ अर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट नेपाल भित्रिएको थियो ।

यसअघि कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता नदिएका कारण पनि यो समस्या देखिएको थियो । तर पछिल्लो समयमा कोरिया सरकारले विदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून निर्माण गरेपछि कोरियामा नेपाली कम्पनीहरु समेत पुगेका छन् । कोरियाबाट रेमिट कम्पनीहरुले सेवा सञ्चालन गरेपछि हुण्डीको कारोबार क्रमश घट्ने राष्ट्र बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.