काठमाडौं महानगरले सवारी करको दर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?

  २०७४ असोज २३ गते १८:३७     भूमिका तिमल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ ।

काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो ।

महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ ।

ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ ।

मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ ।

गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ ।

विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट  दिइएको महानगरपालिकाले जानकारी दिएको छ ।

सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा)
मोटरसाइकल, स्कुटर ४००
कार, जीप र भ्यान १०००
टेम्पु र ट्याक्टर १०००
मिनीबस, मिनी ट्रक २०००
ठुला बस, ट्रक ३०००
हेभी गाडी, डोजर र क्रेन ४०००
अन्य सवारी १०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.