३० बर्षे कार्यकाल हटाउने राष्ट्र बैंकको निर्णय, कर्मचारीको वृद्धि विकास अध्ययन गर्न सुझाव समिति

  २०७४ असोज ९ गते १७:५३     विकासन्युज

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको हो । ‘३० बर्षे कार्यकालको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको छ र लोक सेवा आयोगसँग रायसुझाव मागिएको छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने ।

३० बर्षे कार्यकालको सिमा हटाउन नहुने पक्षमा रहेका कर्मचारी युनियनहरुको मागको सुनुवाई गर्न बैठकले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा दुई जना डेपुटी गभर्नर र प्रवक्ता नारायण पौडेल सदस्य रहेको समिति समेत गठन गरेको छ । ३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असरको न्युनिकरणका लागि अध्ययन गर्न गठित समिति नाम दिइएको उक्त समितिले राष्ट्र बैंकको संघिय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।

राष्ट्र बैंकको संरचनालाई संघियता अनुसार परिमार्जन गरेर पनि कर्मचारीहरुको वृद्धि विकासमा असर पर्न नदिने योजनासहित ३० बर्षे कार्यकालको सिमा हटाइएको सहायक प्रवक्ता पण्डितले बताए ।

कर्मचारी आन्दोलनमा
काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, महासचिव रेग्मीले भने ।

उनले सञ्चालक समिति मात्रै राष्ट्र बैंक हो भन्ने मान्यता नत्यागे गम्भिर परिणाम आउने चेतावनी पनि दिए । एमाले निकट कर्मचारी युनियनले पनि मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.