बैंकले सेयर धितोमा कर्जा दिन थाले, बढ्ला त बजार ?

  २०७४ भदौ २१ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् ।  हालसम्म झण्डै आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर कर्जा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । बैंकले सेयरमा लगानी गर्ने भएपछि हाल घटिरहेको बजार बढ्ने अनुमान गरिएको छ ।

नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ । मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । यी दुई बैंकले सेयर कर्जाको ब्याज दर भने खुलाएका छैनन् ।

कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । उसले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ ।

एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । उसले पनि २ दिनमा सेयर कर्जा दिने बताएको छ ।

यसैगरी बुधबार सिद्धार्थ बैंकले पनि आइतबार विज्ञापन गरेर सेयर कर्जा खुला भएको जानकारी दएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले धमाधम सेयर कर्जा खुला गर्न थालेका छन् ।

गत शुक्रबार मात्रै सेयर बजार २५ अंक घटेर १ हजार ५५४ अंकमा सीमित भएको छ । पछिल्लो समयमा बजार घट्दै गएको छ । गत वर्ष बजार बढेर १ हजार ८८१ अंकसम्म पुगेको थियो । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने समयमा यो वर्ष सेयर बजार खस्किएको छ ।
बैंकको ब्याज दर नघटेको र बजारमा सेयर आपूर्ति धेरै बढेपछि मूल्य घटेको सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । केही दिनअघि विकास न्युजले  गरेको कुराकानीमा बजार घट्नुमा आपूर्ति बढी भएको उनको भनाई थियो ।

बैंकले सेयर कर्जा खुला गरे पनि महंगो ब्याजले बजार बढ्ने संभावना न्युन रहेको धितोपत्र व्यसायी नन्दकिशोर मुन्दडा बताउछन् । “ब्याज दर अझै घटेको छैन भने बजारमा बोनस र हकप्रदको सेयरको आपुर्ति ह्वातै बढेका कारण सुधार हुने संभावना कम देखिन्छ”उनी भन्छन । पर्याप्त तरलता भएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज दर नघटाएको उनको भनाई छ ।

हकप्रद बिक्री नभएर धमाधम लिलामीमा आएको छ । पुँजीवृद्धिको योजनाअन्र्तगत बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयर सकिएको र बीमाको मात्र बाँकी रहेकाले लगानीकर्ताको आकर्षण घटेको उनको भनाई छ । बजारमा १० देखि १५ प्रतिशत तलमाथि हुने संभावना रहेको उनले जानकारी दिए ।

पुँजी वृद्धिको योजनापछि बजार बढ्ने र सकिएपछि घट्ने प्रवृति रहेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (काेर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बढेको थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो । हाल बजारमा ७०अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.