हाइड्रोजन बमसँगै उछालियो सुनको भाउ, मूल्य १० महिनायताको उच्चतम विन्दुमा

  २०७४ भदौ १९ गते ११:५१     पवन तिमिल्सिना

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेसँगै सुनको भाउ ह्वात्तै उकालो लागेको छ । उक्त परीक्षणपछि विश्व युद्धको खतराबढेपछि सुनको भाउ १० महिनाकै उच्चतम बिन्दुमा पुगेको छ ।

उत्तर कोरियाको छैठौं सफल आणविक परीक्षणले युद्ध निम्त्याउने संशय बढेपछि लगानीकर्ता ‘सेफ हेभन’ मानिने सुनमा आकर्षित भएका छन्, जसले सुनबजार उकालो लागेको हो ।

रोयटर्सका अनुसार गत नोभम्बर ९ मा प्रति औंस १३३६ डलर पुगेको थियो । सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १० अमेरिकी डलरले बढेर प्रति औंस १३३५ डलर पुगेको छ । सुनको भाउ आइतबार प्रति औंस १३२५ अमेरिकी डलर थियो ।

उत्तर कोरियाले छैठौं हाइड्रोजन बम सफल परीक्षण गरेपछि सुनको भाउ १३५० डलर सम्म पुग्ने अनुमान गरिएको छ ।

गत मंगलबार पहिलो सफल आणविक परीक्षण सँगै सुनको भाउ एक हजार रुपैयाँले उकालो लाग्यो । यद्यपी विहिबारसम्म उत्तर कोरिया- अमेरिका बीच वार्ता हुने हल्ला बाहिर आएपछि सुनको भाउ घटेको थियो । तर आइतबार उत्तर कोरियाले छैठौं हाइड्रोजन बमको विष्फोट गराएको छ ।  उत्तर कोरियाले आणविक बम परीक्षण गरेदेखि सुनको भाउमा उकालो लाग्ने क्रम रोकिएको छैन ।

उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको बिबिसीले जानकारी दिएको छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बैठकबसेपछि अमेरिकी रक्षा सचिव जिम म्याटिसले रोयटर्ससँग कुरा गर्दै भने, ‘सम्पूर्ण सैन्य विकल्पबारे जानकारी गराउन राष्ट्रपतिले निर्देशन दिएका छन् ।’

नेपाली बजारमा उत्तर कोरियाले आणविक बम परिक्षण गरेपछि सुनको भाउ उकालो लागिरहेको छ । सोमबार सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले बढेको छ । अमेरिका-उत्तर कोरिया बीच वार्ता हुने हल्लापछि सुनको भाउ घटेको थियो ।

तर ती हल्लालाई चिर्दै उत्तर कोरियाको शक्तिशाली बम परिक्षणले सुन बजारमा तहल्का मच्चाएको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तराष्ट्रिय बजार सुनको भाउ प्रति औंस १२३० सम्म झर्ने धेरैको अनुमान थियो । तर आइबारको अन्तिम कारोबार प्रति औंस १३३५ अमेरिकी डलर पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५६ हजार आठ सय रुपैयाँ सम्म पुगेको सुनको भाउ सोमबार ५७ हजार रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले अनुसार केहि दिनमै सुनको भाउ १३५० डलर पुग्ने अनुमान गरेका छन् । त्यस अनुसार नेपालमा सुनको भाउ प्रति तोला ५८ हजार रुपैयाँसम्म पुग्न सक्ने शाक्यले बताए ।

परीक्षणपछि पनि सुनको भाउ जुनस्तरसम्म बढ्नुपर्ने हो त्यती धेरे नबढेको शाक्यले बताए । सुनको भाउलाई डलरको भाउले केहि हदसम्म नियन्त्रणमा लिएको उनले बताए । उनले भने, ‘आइतबार १०२.७५ मूल्य रहेको डलर सोमबार १०२.६० पुगेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.