एनसीसी बैंकमा अर्को कानुनी लफडा, सञ्चालक समितिको निर्वाचन प्रक्रिया रद्द

  २०७४ भदौ १२ गते ११:५२     विकासन्युज

काठमाडौं । विभिन्न वहानामा कार्यकाल लम्व्याउँदै आएको एनसीसी बैंक सञ्चालक समिति आफ्नो कार्यकाल फेरी पनि लम्व्याउन सफल भएको छ । ‘जे जे बहुन बराजु सोही सोही स्वाहा’ भने झै सञ्चालक समिति भदौ ६ गते सञ्चालक समितिले गरेको निर्णयलाई भदौ १६ गते हुने साधारणसभाले अनुमोदन गरेमा वर्तमान सञ्चालक समितिको आयु अर्को साधारणसभा नभएसम्मको लागि लम्बिने भएको छ ।

असार २७ गते बैंक सञ्चालक समितिको बैठकले भदौ १६ गते साधारणसभा गर्ने र ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीले साधारणसभा सम्बन्धि सूचना प्रकाशित गरेको थियो । बैंकले निर्वाचन अधिकृतमा सुरेश पौडेललाई नियुक्ती दिएको थियो । निर्वाचन अधिकृतले निर्वाचनको आन्तरिक प्रक्रिया अगाडि बढाएका पनि थिए । उनले आफ्नो पारिश्रमिक पनि लिईसकेको छन् ।

तर भदौ ६ गते बैंक सञ्चालक समितिले निर्वाचनको सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ । सञ्चालक समिति निर्वाचन गर्ने विषयमा कानुनी विवाद आएकोले निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐन आएपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका आधारमा आगामी साधारणसभामा प्रस्ताव गरिएको निर्वाचन सम्बन्धि कार्यक्रम स्थगित गर्नु परेको उनले बताए ।

बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा ९ जना सञ्चालक समितिको व्यवस्था रहेकोले सेयरधनीले ९ पदको निर्वाचन माग गरेको तर बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनमा ७ जनाको मात्र सञ्चालक समिति हुने व्यवस्था भएकोले सोहि विषयमा सेयरधनीबीच विवाद सिर्जना भएको एक सञ्चालकले बताए ।

‘विवादको विषय ठूलो होइन । सेयरधनी मिलेका भए सबै प्रक्रिया मिलाएर सञ्चालक समितिको निर्वाचन गर्न सकिने थियो । सेयरधनीबीच एकले अर्कोलाई सञ्चालक बन्न कसरी रोक्ने भनेर कानुनी सिङ्ग समाउन थालेपछि राष्ट्र बैंकको अन्तिम परिपत्रलाई आधार मानेर निर्वाचन स्थगित गरिएको हो’ ती सञ्चालकले भने ।

नयाँ ऐनअनुसार ७ जनाको सञ्चालक समिति निर्वाचन गर्न वाधा पर्ने अवस्थामा त्यसअघि नै साधारणसभा गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न राष्ट्र बैंकले सबैं बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको उनले बताए ।

यस पटकको साधारणसभामा प्रबन्ध पत्र र नियावली संशोधन गरी ७ जना सञ्चालक हुने व्यवस्था गर्ने र अर्को साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्ने तयारी भएको न्यौपानेले बताए ।

बैंकका साधारण सेयरधनीले भने वर्तमान सञ्चालक समिति मर्जपछिको अन्तरिम सञ्चाक समिति भएको र मर्जपूर्व भएको सहमति अनुसार यसै साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्नु पर्र्नेमा जोड दिएका छन् ।

मर्जको प्रक्रिया र वर्तमान काम चलाउ सञ्चालक समिति विरुद्ध उत्रेको एनबी समूह पनि हाललाई यहि सञ्चालक समितिलाई निरन्तरता दिन सहमत भएको स्रोतको दावी छ । एनबी समूहलाई हकप्रद सेयरमा लगानी गर्न सञ्चालक समितिले सहयोग गर्ने र हकप्रद सेयर निष्काशन प्रक्रिया सम्पन्न नभएसम्म अहिलेको सञ्चालक समितिलाई एनबी समूहले सहयोग गर्ने आन्तरिक सहमति भएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.