नेपाल टेलिकमले फेरि ल्यायो निशुल्क भ्वाइस कल सेवा, आगामी कात्तिक सम्म लागु  

  २०७४ साउन ३१ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले प्रयोगकर्ताले एकअर्कामा निशुल्क भ्वाइस कल गर्न मिल्ने कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधा मंगलबारदेखि फेरि सुरु गरेको छ । अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । टेलिकमका अनुसार यो सुविधा आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ ।


जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि टेलिकमले नयाँ महसुल दर समेत निर्धारण गरेको छ । साथै कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा रहेको छ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने टेलिकमले जनाएको छ । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.